म्याग्दीका संचारकर्मी धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीको अक्षय कोषमा आर्थिक सहयोग गर्नुभएको छ । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले अक्षयकोषका लागि यूनियनका अध्यक्ष राकेश शर्मा र सचिव साधन राम्जालीलाई दश हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

प्रेस युनियन म्याग्दीका उपाध्यक्ष र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीका कोषाध्यक्ष समेत रहनुभएका गर्बुजाले फजुल खर्चलाई जोगाएर पत्रकारलाई सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरेको बताउनुभयो ।

प्रेस यूनियनले ज्योति विकास बैंकमा खाता खोली स्थापना गरेको कोषमा हाल अष्ट्रेलियामा रहनुभएका प्रेस युनियन म्याग्दीका पुर्व सभापति गोपाल छन्त्यालले बीस हजार र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले दश हजार रुपैयाँ सहयोग गर्नुभएको सचिव राम्जालीले जानकारी दिनुभयो ।

कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने यूनियनको भनाइ छ । यूनियनले प्रतिबद्धता गरेको रकम सहित थप सहयोग गरी ५ लाख बैंकमा जम्मा गरेपछि पत्रकार सम्मेलन गरी सहयोगदाताको नाम सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply