स्थानीय तह निर्वाचनको निर्धारित मिति वैशाख ३० आउन जम्मा १७ दिन मात्र बाँकी रहदा पनि आइतवार रातीसम्म नेकपा एमालेले बेनी नगरपालिकाको मेयरका लागि उम्मेदवार छनोट गर्न सकेको छैन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार दर्ताको दिन बिहान मात्रै उम्मेदवार छनोट गरेको नेकपा एमालेले अहिलेको स्थानीय तहको निर्वाचनमा पनि पुरानै प्रवृतिको पुनरावृति हुने संकेत देखिएको छ ।

नेकपा एमालेको प्रमुख प्रतिद्धन्द्धी नेपाली कांग्रेसले भने बेनी नगरपालिकाको मेयरका लागि चिरञ्जिवी पौडेललाई उम्मेदवार छनोट गरी नगरका वडाहरुमा चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ ।नेकपा एमालेमा बेनी नगरपालिकाको मेयरको टिकटका लागि पार्टीभित्र कडा प्रतिस्पर्धा सुरु भएको छ ।

नेकपा एमालेको तर्फबाट बेनी नगरको मेयरमा चारजना उम्मेदवारका आकांक्षीले आफूले टिकट पाउनु पर्ने दावी गर्दै पछि हट्न नचाहेपछि नेकपा एमालेको िबेनी नगर कमिटी,जिल्ला कमिटि हुँदै मेयरको उम्मेदवार छनोट गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको नेकपा एमाले म्याग्दीका एक नेताले जानकारी दिएका छन् ।

एकहप्ता अघि बसेको नगरकमिटीको वैठकमा सर्वसम्मत नभएपछि चार जना आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको थियो । नेकपा एमालेमा मेयरका लागि प्रमोद श्रेष्ठ,सन्तोष रावल, सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटिले पनि निर्णय लिन नसकेपछि प्रदेश कमिटीमा पठाइएको नेकपा एमाले म्याग्दीका उपसचिव राजकुमार थापाले बताए ।

‘मेयरका आकांक्षीहरु टिकट पाउन लविङ थालेका छन,‘सहमति नभएपछि चारैजना आकांक्षीहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरिएपनि निर्णय भएको छैन’उपसचिव थापाले भने । अव मेयरको टिकट दिने निर्णय प्रदेश कमिटीलाई भएको उनले बताए । ‘कसले टिकट ल्याउँछ भन्न सकिने अवस्था छैन थापाले भने ‘सवैजना क्षमतावान र योग्य हुनुहुन्छ जसले ल्याएपनि पार्टी एकतावद्ध भएर निर्वाचनमा जान्छ।’

२०७४ सालको निर्वाचनमा समयमा नै उम्मेदवारको टुंगो लगाउन नसक्दा पराजित भएको भनेर कार्यकर्ताहरुले व्यापक असन्तुष्टि व्यक्त गरेका थिए । नेकपा एमाले जिल्ला कमिटीले पनि समिक्षा वैठकमा सोही आशयको निक्र्योल निकालेको थियो ।

यसपटक पनि विपक्षी दलले उम्मेदवार टुंगो लगाएर प्रचारमा जुटीसक्दा पनि एमालेले उम्मेदवार टुंगाउन नसक्नुले कार्यकर्ता र मतदाताहरुमा राम्रो सन्देश नगएको बताइएको छ ।नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका चिरञ्जीवि शर्मा चुनावी अभियान लिएर नगरका विभिन्न वडाहरुमा चुनावी प्रचार प्रसारसहित र मतदाताको घरदैलो अभियानमा छन् ।

कांग्रेस जिल्ला कार्यसमितिको पदाधिकारीको वैठकले १० जना आकांक्षीहरु मध्यबाट शर्मालाई उम्मेदवार बनाउने निर्णय वैशाख २ गते गरेको थियो । अहिले कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी अभियान सुरु गरिसकेको छ । आइतबार र सोमबार उम्मेदवारी दर्ताको दिन आयोगले तोकेको छ ।

Leave a Reply