म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए ।

निर्वाचन अधिकृत जानुका सुवेदीले काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गराएका जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना माओवादी केन्द्रका उमेद्वारले वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ ।

काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा पुन, उपाध्यक्षमा ललिता तिलिजा पुन र १ देखि ८ नम्बर वडाको अध्यक्षमा क्रमश ः भविन्द्र गर्बुजा, रेखीराम पुर्जा, सुरत केसी, लोकबहादुर फगामी, राजेश तिलिजा, रामबहादुर खड्का, गमबहादुर फगामी पुन र रवी गर्बुजाले मनोनयन दर्ता गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका ३ को दलित महिला सदस्यमा संगिता सार्की बिक र वडा नम्बर ५ को खुल्ला सदस्यमा पुर्णबहादुर पाइजाले नेकपा माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता गर्नुभएको छ । यी दुई वटामा माओवादीले उमेद्वार उठाएको ठाउँमा काँग्रेसले उमेद्वार उठाएको छैन ।

वडा न. ७ मा गमबहादुर फगामीले दोहो¥याएर उमेद्वार बन्नुभएको हो । वडा नम्बर ५ मा गत निर्वाचनमा वडा सदस्यमा निर्वाचित भई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हालेका राजेश तिलिजा र यसअघिको चुनावमा वडा सदस्य निर्वाचित भएका घारका रामबहादुर खड्का यसपाली वडा अध्यक्षको उमेद्वार बन्नुभएको हो ।

गाउँपालिका अध्यक्षका उमेद्वार बलबहादुर वडा नम्बर ५ शिख र उपाध्यक्षका उमेद्वार ललिता वडा नम्बर ८ नागीका हुनुहुन्छ ।

“सेवानिवृत्त भएपछि करिब पाँच करोड ५० लाख चन्दा उठाएर गाउँको शिक्षा, सडक, खेलमैदान, भवन लगायत विकास पूर्वाधारमा परिचालन गरे,” उहाँले भन्नुभयो “चन्दा उठाएर विकास सम्भव देखिएन् । राज्यकै स्रोत साधन भित्र्याएर अन्नपूर्णको विकास गर्नुपर्छ भनेर उमेद्वार बनेको हो ।”

उपाध्यक्षका उमेद्वार ३१ वर्षीय ललिताले जलविद्युत, पर्यटन, कृषि र लघुउद्यमको विकास गरि रोजगारी सिर्जना, महिला र युवालाई स्वरोजगार बनाउन प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । अन्नपूर्णको अध्यक्षमा एमालेले भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलीजा पुनलाई उमेद्वार बनाएको छ । एमालेका उमेद्वारहरुले सोमबार मनोनयन दर्ता गर्ने जनाएका छन् ।

दुवै दलका उमेद्वारहरुले सडक, भवन, खानेपानी र सिचाई लगायत पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, कृषि र पर्यटनको प्रर्वद्धन तथा रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।

एमालेका अध्यक्षका उमेद्वार पुनले छ महिनाभित्र पञ्चवर्षीय प्रस्तावित योजना तयार पार्ने, गाउँपालिकाको प्रशासकीय भवन बनाउने र वडाको केन्द्र जोड्ने सडकलाई कालोपत्र गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उपाध्यक्षका उमेद्वार तिलिजा पुनले महिला शसक्तीकरण, आयआर्जन वृद्धी र लघुउद्यमसँगै आर्थिक, सामाजिक क्षेत्रका मुद्दालाई प्राथमिकता दिने बताउनुभयो।

१४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता छन् । गत चुनावमा काँग्रेसको अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा जितेको थियो । एमालेले तीन र माओवादीले एक वटा वडा जितेका थिए ।

Leave a Reply