मंगोल नेशनल अर्गनाइजेशनले बेनी नगरपालिकाको मेयरमा नरबहादुर थापा मगरलाई उम्मेदवार बनाउने भएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिका–७, निवासी थापालाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो ।

‘अनुभवी भएकाले उहाँलाई अगाडी सारेका छौ,‘विगतमा पनि निर्वाचनमा सहभागी हुनुभएको अनुभव छ’ अध्यक्ष पुनले भन्नुभयो । बेनपा–१ अर्जम स्थायी घर भएका पुन लामो समयदेखि बेनीस्थित हुलाकचोमा बस्दै आउनुभएको छ । बिरेन्द्रचोक टोलसुधार समितिका सदस्य समेत रहनुभएका थापाले टोलमा हुने सामाजिक तथा मानवीय सेवामा समेत चासो राख्नुहुन्छ ।

मंगोल नेशनलले बेनी नगर सहित जिल्लाका ४ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी टुंगो लगाएको छ भने आइतबार मंगला गाउँपालिकाको अध्यक्षको उम्मेदवार घोषणा गर्ने जनाएको छ । त्यस्तै वडामा मालिका गापा ६, धवलागिरी गापा ४, रघुगंगा गापा ५, अन्नपूर्ण गापा ५, बेनी नगरपालिका २ र मंगला गापा १ वडा अध्यक्षको उम्मेदवारी टुंगो लागेको छ । राष्ट्रिय दल मान्यता प्राप्त बाहेक साना दलमा मंगोल नेशनल अर्गनाइजेशनले धमाधम उम्मेदवार चयन गरेको छ ।

Leave a Reply