नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयर  छनोट गरेको छ । पालिका कमिटी र जिल्ला समितिबाट गरेको सिफारिसको आधारमा शुक्रवार पार्टीको प्रदेश कमिटीको सचिबालयले उम्मेदवारहरुको छनौट गरेको हो ।

माओवादी केन्द्रबाट बेनी नगरपालिकाको मेयरमा धनलाल जैसी र उपमेयरमा ज्योती लामिछाने पौडेल उम्मेदवार चयन हुनुभएको छ । बेनीको मेयरको उम्मेदवारमा माओवादीबाट जैसी संगै सेरबहादुर केसीको नाम समेत सिफारिस भएको थियो । माओवादीबाट मेयर पदको उम्मेदवार बन्नुभएका बेनपा ३ भकिम्ली निवासी जैसी माओवादीको श्रम तथा वैदेशिक रोजगार विभागको केन्द्रिय सदस्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल केन्द्रिय मह व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।

उपमेयरको उम्मेदवार चयन हुनुभएकी पौडेल अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ गत चुनावमा उपमेयरमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । सहकारी र सामाजिक संघ संस्थामा सक्रीय बेनपा–७ कुरीलाखर्क निवासी पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुनुहुन्छ ।

 

Leave a Reply