नेपालको संविधानले जातीय विभेदलाई प्रोत्साहन गर्न नपाइने उल्लेख भएपनि अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । छुवाछुत अपराध मानिएसँगै सहभोजको आयोजना गर्ने गरेपनि अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग भेटिन्छन्। कथित उपल्लो जातिले चाहेको बेलामा मन्दिरमा पूजाआजा गर्दा दलित समुदाय चाडपवर्जमा समेत पुजारीकै अवरोधका कारण मन्दिरभित्र पस्नसमेत पाउँदैनन् ।
तर,म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँ चिसापानीमा अवस्थित दुर्गा भगवती कालिका माईको मन्दिरका पूजारी चन्द्रबहादुर राम्जाली भने दलित मन्दिरमा पुग्दा खुसी हुदै स्वागत गर्छन् । पूजारी राम्जालीले दलित समुदायकाले समेत आफूले चाहेको बेला पूजा गर्ने सुविधा मिलाएका छन् ।
परम्परागत रूपमा रहेको कुसंस्कारको अन्त्यको आवश्यकता रहेको भन्दै पूजारी राम्जालीले मन्दिरभित्रका भगवानले दलित र गैरदलित भनेर छुट्टाउन नसक्ने बताए ।‘म दलित समुदायका पूजाआजा गर्न आउँदा धेरै खुसी हुन्छु,‘उहाँहरूको मन्दिरभित्र प्रवेश गर्दा उज्यालो अनुहार हुन्छ’ पूजारी राम्जालीले भने ।
‘भगवान छोइन्छ’ भन्दै दलितलाई मन्दिरमा बेइज्जत गर्नेहरूलाई उदाहरण बनेको उनले बताए । उनले मन्दिरभित्रका भगवानलाई पूजा गर्दा सबै खुसी हुने बताउँदै मान्छेले मान्छेलाई भेदभाव गर्न तत्कालिन समयमा समाजमा केही टाठा बाठाले अर्कालाई निच देखाउने प्रयास गरेको बताए ।
आफूलाई ठूलो देखाउन हिन्दु धर्मभित्र गलत परम्पराको थालनी भएको बताउँदै पूजारी राम्जालीले मन्दिरमा दलितले नै बनाएको प्रसाद वितरण समेत गरिएको बताए । ‘समाजका सबै एकैपटक मन्दिरमा प्रवेश गर्न मिल्छ,‘छुत अछुत हुन्छ भन्ने बनावटी कुरामात्रै हो’पूजारी राम्जालीले भने ।मन्दिरमा पूजारी बन्न चाहने दलित यूवाहरुलाई समेत स्वागत गर्न आतुर रहेको उनको भनाई छ ।
उनले छुवाछुतको अन्त्यमा करिब ५० प्रतिशतभन्दा धेरै भूमिका मन्दिरको पूजारीको हुने बताए । करिब तीन दशकदेखि मन्दिरको सेवामा सक्रिय राम्जालीले मन्दिरमा जानेलाई छुवाछुत गलत भएको भन्दै लामो प्रवचन समेत दिने गरेका छन् ।दैनिक मन्दिरमा आउने भक्तजनमा अहिले दलित समुदायका धेरै हुन्छन् ।
पूजाआजा गर्न सहज होस् भनेर उनले दलित अगुवालाई नै चावी समेत दिएका छन् । उनको सक्रियता र प्रयासलाई सबै जातीले साथ दिएका छन् । ‘दलितले मन्दिरमा पूजा गर्दा धर्म नास हुन्छ भन्नेहरूलाई समेत खुसी बनाएर पठाएको छु‘ दलितमाथि थिचोमिचोले भगवान दुःखी हुनुहुन्छ भन्ने तर्कमा सिंगो समुदायको साथ छ’ उनले भने ।
मन्दिरमा छुवाछुत अन्त्य भएको जानकारी पाएपछि धेरै दलितले बषौंपछि मन्दिरको दर्शनका लागि आएको स्थानीय जनआवास आधारभुत विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले बताए । ‘पूजारीको सक्रियताले पनि छुवाछुतको अन्त्य हुन्छ,‘ जात फालेको आरोप लगाउनेहरू अहिले सँगै साथ दिएको देखेका छौ’ प्रअ विश्वकर्माले भने ।
उनले पूजारी राम्जालीबाटै मन्दिरमा दलितले बनाएको भोजन समेत ग्रहण गरेपछि अन्य जातिले समेत धमाधम लिन थालेको बताए । मन्दिरमा पूजाआजा गर्न पूजारीको न्यानो स्वागत र साथले स्थानीय दलित समुदायका बासिन्दा प्रफुल्ल भएका छन्।
आधुनिक समाजमा दलितले छुँदा मन्दिर अपवित्र हुन्छ भन्ने भ्रमको अन्त्य गर्न एकपटक मन्दिरमा पाल्न समेत पूजारी राम्जालीले अनुरोध गरेका छन् । सन् १९८३ सालमा निर्मित जिर्ण मन्दिर निर्माणमा करिब ९ लाख खर्च भएपनि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट ४ लाख, वडाबाट १ लाख ३० हजार, मंगला गाउँपालिका ८५ हजार बाहेक सबै चन्दा सहयोगमा चिटिक्कको मन्दिर बनाइएको छ ।