म्याग्दीमा श्वासप्रस्वासमा समस्या भएका दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी जिल्लाको अति विकट क्षेत्रमा रहेका स्वास्थ्य चौकी सहित विभिन्न संस्थालाई ७ थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरिएको छ । गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङको पहलमा बेनेभोलेन्स च्यारिटी हल लिमिटेड हङकङले उपलब्ध गराएको कन्सन्टेटर विभिन्न संघसंस्थालाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

सदरमुकाम बेनीस्थित विरेन्द्रचोक टोलसुधार समितिमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपाल बाल संगठन म्याग्दीमा १ थान, बेनपा-६, थाकनपोखरीस्थित सामुदायिक स्वास्थ्य इकाईमा १ थान,गलेश्वरस्थित बृद्धआश्रममा १ थान, रघुगंगा गाउँपालिका-७,चिमखोलाको पात्लेखत स्वास्थ्य इकाईमा १ थान, मालिका गाउँपालिका–५,देविस्थानको स्वास्थ्य चौकी १ थान र धवलागिरी गाउँपालिका-१ गूर्जाको स्वास्थ्य चौकीलाई १ थान गरी १० लिटरको जर्मनमा निर्मित कन्सन्टेटर हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, गैसस महासंघ म्याग्दीका निर्वतमान अध्यक्ष हरिप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ म्याग्दी, जिल्ला ट्राफिक कार्यालय, बेनी सामुदायिक माविलाई प्रति संस्था ३ हजार थानको दरले मास्क समेत वितरण गरिएको थियो । सहयोग हस्तान्तरण गदैं एनआरएनए आइसीसी महिला सचिव गुरूङले म्याग्देली भएको नाताले आफ्नो तर्फबाट भविस्यमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हङकङमा ब्यवसायमा सक्रिय गुरुङले स्वास्थ्य सहित अन्य विभिन्न योजनामा एनआरएनए र विभिन्न संघसंस्थासँग सहकार्य गरी म्याग्दीमा काम गर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरका मेयर श्रेष्ठले नियमित रुपमा बिरामीलाई अक्सिजन प्रवाह गर्न सकिने बताउनुभयो । कार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

 

 

Leave a Reply