म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षिय बेसहारा खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापालाई सहयोग आउन सुरु भएको छ ।

बुधबार (हिजो) ‘बुढेसकालमा सहारा विहीन ९६ वर्षिय थापा दम्पत्ति,गोठमा बास,छैन खाने गास’ शीर्षकको समाचार विभिन्न संचारमाध्यमहरुमा प्रकाशन÷प्रशारण भएको थियो ।

सोही समाचारबाट जानकारी पाएपछि बिहीबार (आज) बिहान म्याग्दीको बेनी नगरपालिका ९ निवासी पत्रकार निर्मल खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी (खत्री) को २३ औं जन्मदिनको अवसरमा एकबोरा चामल, तेल, नुन,चिनी,चियापत्ती,सावुन, चाउचाउ लगाएतका खाद्यान्न सहयोग गरेका हुन् ।

९६ वर्षिय थापा र उनकी श्रीमती खिरकुमारी थापा एक गास खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भैसी बाध्ने गोठमा आश्रय लिइरहेका छन् ।

खाद्यान्न सामाग्री पाएपछि श्रीमती खिरकुमारीले खुसी व्यक्त गर्दै आफ्नो पीडामा सहयोग गर्नुभएकोमा सहयोगदाता खत्रीलाई धन्यवाद दिइन् । ९६ वर्षिय थापा कान सुन्नुहुन्न भने बोल्न सक्ने अवस्थामा पनि छैनन् ।

खाद्यान्न सहयोग प्रदान गर्नका लागि थापाको निवासमा नै आएका सहयोगदाता खत्री र म्याग्दीका सक्रिय पत्रकार हरिकृष्ण गौतमले थापा दम्पत्तिको अवस्था अत्यन्त दयनीय रहेको बताउँदै मनकारी व्यक्तिहरुलाई सहयोगको आह्वान गरे ।

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षिय थापाको मनभित्र पीडा र दुःखको बाढी नै गड्गडाइरहेको महशुस गर्न सकिन्छ ।

लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न,तरकारी,दुध,दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (श्रीमती) आफू भन्दा पहिला छुट्लिन (मृत्युहोला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन् ।
सम्पतिका नाममा थापाको न बास छ, न खाने गास (अन्न) । आफ्नै भाइको गोठमा बूढेसकालका दिनहरु विताइरहनुभएका थापा दम्पत्तिका सन्तान छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपाङ्ता भएकी) छन् । विरामी हुँदा र साह्रो गाह्रो पर्दा दाजुभाइका छोराहरु दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गरेका छन् ।

Leave a Reply