---Advertisement---

कहिले फर्किने ?

On: March 19, 2022 11:30 AM
Follow Us:

गोपाल छन्त्याल\सामाजिक सञ्जाल भन्दा बाहिर रहन को नै रहन सक्छ र ? अझ, प्रवासमा श्रम र समय खर्च गरिरहने म जस्ताका लागि सामाजिक सञ्जाल गाउँघर र आँगनको हालखबर मात्र होइन्, त्यहाँको न्यास्रोपन मेटाउने निर्विकल्प माध्यम बनेको छ । सामाजिक सञ्जाल नहुदो हो त प्रवासमा रहने लाखौँ प्रवासीहरुको अवस्था कस्तो रहन्थ्यो होला ? कल्पना समेत गर्न सकिदैन ।

कहिलेकाँही सोच्ने गर्छु,– जतिबेला मेरा भिनाजु खाडीमुलुक हुँदा दिदिको चिठ्ठी लेख्ने र भिनाजुले पठाउनुभएको जवाफी पत्र पढेर सुनाउने म, आजभोली हुदो  हो त, मेरी श्रीमति र घरपरिवारको पत्र कति व्यग्रले कुर्थे हुँला ! एकछिन, एकदिन वा बढीमा एकहप्ता इन्टरनेट सुविधा नहुदा पागल जस्तै बन्ने हामी उबेला मेरी दिदि अझ त्यसभन्दा अघि आमाहरु र विदेशमा रहने प्रियजनहरुले कसरी आफुलाई सम्हाल्न सके होलान् ? तड्पाइको त्यो ज्वारभाटालाई कसरी थमथम्याउन सके होलान् ?

प्रवास छिरेको ३ बर्ष पुरा हुदैछ । एकदिन पनि यस्तो क्षण छैन, जहाँ इन्टरनेट र सामाजिक सञ्जालबाट टाढा रहन सकेको । कुनै गाउँमा बाटोघाटो र पानी पधेराहरु बनेका होस्, सडक सञ्जाल पुगेको होस्, विकासका नयाँ आयामहरु भित्रिएको होस् । ढिलासुस्ती र लापरबाहीका घटनाहरु नभैदिइयोस्, आम प्रवासीहरुले गाउँघरका खबरहरु हेर्दा राख्ने चाहनाहरु यस्तै–यस्तै हुन् ।

तर, विडम्बना सकरात्मक भन्दा नकरात्मक, उत्साहबद्र्धक भन्दा अभाव र समस्याका कथाहरु नै बढी बाहिरिन्छन् । यस्ता घटना र कथाहरुले जरुर कसैलाई उर्जा र हौसला मिल्दैन्, अझ म जस्ता प्रवासीलाई झन पटक्कै खुशी र सन्तुष्टि दिदैन् । रन्थनिएका मनलाई सामाजिक सञ्जालबाट अभिव्यक्त गर्दा सोधिने र गरिने सबैभन्दा सहज प्रश्न– ‘पहिला यहि आएर केही गर ।’ दोश्रो प्रश्न– ‘विदेश बसेर ठुला कुरा गर्ने ?’ यी प्रश्नहरुको जवाफ अहिलेसम्म व्यक्त गरेको छैन । र, प्रश्नहरु त्यति नाजायज पनि छैन ।

प्रश्न गर्नेहरु वा जवाफ नदिने म को सही ? भविश्यले बताउला । मलाई सबैभन्दा गम्भिर बनाउने अर्को प्रश्न हो– ‘देश कहिले फर्किने ?’ भन्नलाई सहजै भनिदिन्छु, दुई/चार महिना वा एकबर्षपछि फर्किने । तर, मनलाई कहाँ बाँधेर राख्न सकिदो रहेछ र ? प्रश्न सुन्ने वित्तिकै उडिहाल्छ, हावाहुरी जसरी । कम्पन भइहाल्छ, गाउँघरका ती धारापधेरा अनि चौताराहरु । सायद, मन जस्तै मानिसका परिधिहरुलाई बाँध्न नमिल्ने भए मनसँगै तन पनि उतै हुने थियो । जन्मे, हुर्केको र खेलेको त्यही ठाउँ तिर हुने थियो । मानिसका बाध्यता र परिधिहरु पनि कति र कस्ता–कस्ता हुने रहेछन्, अहिलेसम्म बुझ्न सकिरहेको छैन् । हिजोका सबै समस्या आज सामान्य र समाधान भइसकेका छन्, तैपनि अगाडी बग्रेल्ती समस्याहरु यथावत छन् ।

कहिलेकाँही सोच्ने गर्छु– ‘जसरी मानिस अघि बढ्दै जान्छ, समस्या र चुनौतीका रुपहरु पनि उसैगरि बढ्दै आउने, यो निमय खाशमा कसले बनाएका रहेछन् ?’  हुन त जिन्दगी भनेकै सँघर्ष, अभाव र आशाको समिक्षण हो भन्छन् । प्रवास पस्नुमा सबैका आ–आफ्ना कथाहरु छन्, फरक यत्ति हो, कतिले ती कथाहरु व्यक्त गरिरहेका हुन्छन्, कतिले मनभित्रै गुम्साएर राखिरहेका हुन्छन् ।

कुन बाध्यताले हो कुन्नी प्रवास छिरेको दशकौ सम्म एक पटक देश नफर्केका देखि विदेश पाइला टेकेको एक महिना भित्रै घर फर्किएका पात्रहरुलाई देख्दा लाग्छ, देशको माटो प्यारो कि जीवन चक्रका बाध्यता ठुलो ? सबैभन्दा राम्रो त, देशको सीमा नै छोड्नु नपरोस्, देशकै माटोमा सुखदुख बाँडीचुडी गर्न पाइयोस्, बिहानीपख हिमालको मुस्कानसँगै आँखा खोल्न पाईयोस् अनि त्यही हिमालको शिरबाट बहन हावासँगै सास फेर्न पाईयोस् भन्ने हो । तर, विडम्बना मेरो पुस्तासम्म मात्र होइन् कालान्तरसम्म पनि यस्ता बाध्यता रहिरहने छ ।

खुशी र सन्तुष्टिको खोजीमा विदेश भौतारिनेहरुले साँच्चिकै ती चीजहरु प्राप्त गर्न सकिरहेका छ की छैनन् ? कम्तिमा मैले चाँही अनुभूति गर्न पाएको छैन् । अनुभुत गराउने त्यस्तो साधनहरु नै के छ र विदेशमा ? यहाँ त, तनाब, अभाव र हतार मात्र छ । सडकहरु चिल्ला र फराकिला भएपनि त्यसमा हुइकिनेहरु विरलै आफुलाई फराकिला सम्झन्छन् । गनगनचुम्बी र रंगिन घरमा रात कटाउनेहरुले विरलै रँगिन सपना देख्न सक्छन् । अर्थात्, भौतिक सुविधाले मात्र कहाँ खुशी किन्न सकिन्छ छ र ?

प्रतिक्रियाका लागि:  [email protected]