????????????????????????????????????

नेपालीमा एउटा भनाई छ ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ । बुढापाकाहरू बाँचेको युग एउटा कालखण्डको जिउँदा साक्षी मानिन्छ । बुढापाका घरका शोभा मात्रै नभई अगुवा,संस्कार र सौन्दर्यताको खानीका साथै समाजका लागि प्रेरणाको स्रोत हुन् ।

बुढापाकालाई सभ्यता, संस्कार र अनुभव सञ्चित गर्ने बैंकको रुपमा लिन सकिन्छ । करिब एक सताब्दीको जीवन भोगाईको खास अनुभवको भण्डार नै बुढापाकालाई लिन सकिन्छ । बुढापाकाको ममतामयी सम्बन्धकै कारण यूवापुस्ताले समेत निकै चासोपूर्ण तरिकाले ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभवलाई लिने गरेको पाइन्छ ।

म्याग्दीमा सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीले अन्तरपुस्ता हस्तान्तरण बिषयक कार्यक्रममा स्कुले विद्यार्थीले ८ दशक पार गरेका बुढापाकाको अनुभवलाई निकै चासो दिएर मात्रै सुनेनन्, नजिकैबाट घुलमिल भए । म्याग्दीकै ज्येष्ठ जनप्रतिनिधि एवम् मालिका गाउँपालिका–४ का वडा अध्यक्ष दिलिप शेरचनले आफ्नो अनुभव सुनाउँदा धेरै स्कुले, क्याम्पसका विद्यार्थीले निकै चासो दिएर सुने ।

८० बर्ष पार गरेपनि जनताको प्रतिनिधिको रुपमा कार्यरत शेरचनसँगै ज्येष्ठ नागरिक सेवा आश्रमका अध्यक्ष नैनकुमार श्रेष्ठ, सर्जक ध्रुवलाल शर्मा, महारानीथान मन्दिर ब्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी जोसी, संस्कृतिका संरक्षणमा सक्रिय अंगद श्रेष्ठले आफ्नो पुराना अनुभवसँगै नयाँ पुस्तालाई समाजप्रतिको जिम्मेबारी समेत निकाए।

मानसिक तथा भौतिक रुपले कमजोर भएपनि अनुभवको हिसावले संग्रहालय जस्तै छौ’ ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठले भने।उनले बुढापाकाको अनुभवलाई नयाँ पुस्ताले मिल्काउनुभन्दा पनि जतन गरेर राख्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले ज्येष्ठ नागरिका ज्ञान, सीप र अनुभवलाई समाजले ग्रहण गर्नुपर्छ भन्ने सन्देश बोकेको बृत्तचित्र सहितको कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकको महत्वलाई उजागर गरेको बताए ।

सामाजिक सुरक्षा र सामाजिक सबलीकरणतर्फ ध्यान दिनुपर्ने बताउँदै आरमदायक जीवनयापनका लागि समेत उचित व्यवस्था आवश्यकतामा जोड दिए ।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकले अनुभवलाई समाजको अमुल्य सम्पती भएकाले खोला, नदीबाट बगेर समुद्रमा जम्मा भएको पानी जस्तै भएकाले अनुभवको सहकार्य आवश्यकता रहेको बताए ।

सहभागी सञ्चारकर्मी पदम विश्वकर्मा, विद्यार्थीहरु विबा खाती, हिमाल आचार्य, ज्ञानेन्द्र मल्ल ज्येष्ठ नागरिकलाई श्रद्धा र सम्मान आवश्यक रहेको बताए । सोसाईटीका अध्यक्ष कमल खत्रीले नयाँ अनुभवसँगै राउँदै गएका भाषा, संस्कृति, परम्परा र रहनसहनलाई ज्येष्ठ नागरिकका अनुभूतिका रुपमा वृत्तचित्रमा उतार्ने प्रयास भएको बताए।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल,विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी, कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी र ज्येष्ठ नागरिक लगायतको समेत सहभागीता रहेको थियो । म्याग्दीमा सामाजिक विकास मन्त्रालयमार्फत समुदायस्तरमा विभिन्न सचेतनामुलक कार्यक्रम सहितका गतिविधि सञ्चालन भइरहेको छ।

Leave a Reply