आज मार्च ८ अर्थात् ११२ औं अन्तराष्ट्रिय नारी दिवस । सन् १९११ देखि मनाउन थालिएको यो दिवस १११ वर्ष पुगेको छ ।
यस वर्ष ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ११२ औं अन्तराष्ट्रिय महिला दिवस मनाइदै छ ।
तर हजारौं वर्ष पहिला ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा (सम्मान) गरिन्छ त्यहाँ देवताहरु पनि रमाउँछन् भनेर मनुस्मृतिमा भनिएको कुरालाई विर्सेर पश्चिमा परिपे्रक्षमा महिला दिवस मनाइनु स्वभाविक नहुने धार्मिक तथा वैदिक व्यक्तित्वहरुको भनाइ रहेको छ ।
वेदले नारीलाई अत्यन्त महत्वपूर्ण, गरिमामय उच्च स्थान प्रदान गरेको धर्मशास्त्रवीद् मणी शर्माले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार वेदमा नारीहरूलाई शिक्षा, दीक्षा, गुण, कर्तव्य, अधिकार र सामाजिक भूमिकाको वर्णन पाइन्छ । वेदले नारीलाई घरको साम्राज्ञी, देशको शासक र पृथ्वीको साम्राज्ञी बन्ने अधिकार दिएको छ । वेदमा नारी यज्ञीय हुन अर्थात् यज्ञ समान पवित्र हुन् भनिएको छ । वेदमा नारीलाई ज्ञान दिने, सुख समृद्धि ल्याउने, विशेष तेज भएकी, देवी, विदुषी, सरस्वती, इन्द्राणी, उषा जो सबैलाई ब्युँझाउँछिन् भनिएको छ ।
शर्माका अनुसार पहिला नारीहरूको नामको पछाडि देवी लेखिन्थ्यो तर अहिले देवी विलुप्त भएकी छन् । वैदिक युगमा नारीलाई आफ्नो चौतर्फी विकास गर्ने पुरुष समान समानता थियो । नारीलाई सबै क्षेत्रहरूमा विकास गर्ने स्वतन्त्रता थियो ।
त्यस युगमा नारीमा विचारशक्ति तथा आत्मबलका साथै शालीनता, विनम्रता तथा प्रभावशाली व्यक्तित्व हुन्थ्यो । ऋग्वेदको दशम मण्डलको १०२ सूक्तमा राजा मुग्दल तथा रानी मुग्दालानीको वर्णन छ । जसमा रानीले राजालाई युद्धमा विजय प्राप्त गराउँछिन् । उच्च शिक्षा प्राप्त नारीहरूमा कोही कोही आजन्म ब्रहृमचारिणी बसेर आध्यात्मिक उन्नतिमा लाग्दथे ।
वैदिक कालमा ब्रहृमवादिनी नारीहरू वेदाध्ययन गर्दथे, काव्य रचना गर्दथे, त्याग तपस्याद्वारा ऋषिभाव प्राप्त गर्दथे । ऋग्वेदका धेरै सूक्तहरू नारीले रचना गरेका छन् । ऋग्वेदको दशम मण्डलको ३९, ४० सूक्त तपस्विनी ब्रहृमवादिनी घोषले रचना गरेकी हुन् । १. ७७ को मन्त्रको रचयिता ऋषिका रोमश, १.५.२९ को विश्वारा, १.१०.४५ को दृष्टा, इन्द्र्राणी, १.१०. १५९ को मन्त्र अपालाले रचना गरेकी हुन् । अगस्त्य ऋषिकी पत्नी लोपामुद्राले पतिसँगै सूक्तको दर्शन गरेकी थिइन् । सूर्या पनि एक ऋषिका थिइन् ।
त्यसैगरी वेदमा नारीलाई पूज्य स्तुतियोग्य, रमणीय, आहृवानयोग्य, सुशील, बहुश्रुत र यशोमयी भनेर वर्णन गरिएको छ । अनेक ऋषिकाहरूलाई वेदमन्त्रको द्रष्टा बताइएको छ । जस्तै अपाला, गार्गी, मैत्रेयी, आत्रैयी, लोपामुद्रा, घोषा, विश्ववारा, सरस्वती, सर्पराज्ञी, सूर्या, सावित्री, अदिति, दाक्षायानी नारीहरु पुरुषको तुलनामा धेरै ज्ञानी र विद्यताले पूर्ण थिए भनेर बेदमा उल्लेख गरिएको छ ।
यजुर्वैद २०.९ खण्डमा स्त्री र पुरुष दुवैलाई शासक बन्ने अधिकार छ भनिएको छ । त्यसैगरी यजुर्वेद १७.४५ मा नारीहरूको पनि सेना होस् । नारीहरूलाई पनि युद्धमा भाग लिन प्रोत्साहित गर भनेर निर्देशन दिइएको छ । यजुर्वेदकै १०.२६ मा नारीहरु पनि शासक बनून् , नारीहरूले अरूलाई पनि राजनीतिको शिक्षा दिऊन्, जसरी राजाले सबैलाई न्याय गर्छन् त्यसरी नै रानी पनि न्याय दिने होउन् भनेर समान अधिकारको बाँडफाँड गरिएको छ ।
अथर्ववेद १.१४.३ मा भनिएको छ ‘हे वर, यी बधू तिम्रो कुलको रक्षा गर्नेवाली हुन् र यिनले धेरै कालसम्म तिम्रो घरमा बास गरून् र बुद्धिमत्ताको बिउ रोपून् । अथर्ववेद २.३६.३ मा यी बधू पतिगृहमा गएर रानी बनून् र त्यहाँ प्रकाशित होऊन् भनेर नारीको स्वतन्त्रतालाई सर्वोपरी ठानिएको धर्मशास्त्रमा आचार्य गर्नुभएको पं श्याम शर्मा सापकोटाले बताउनुभयो ।
सनातन हिन्दू धर्म र वेदमा नारी अधिकार र महत्वका वारेमा हजारौ वर्ष पहिलादेखि स्थान दिइदै र सम्मान गरिदै आइएको भए पनि सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो। सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दिएको थियो ।
महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषय केवल राजनीतिक नारामा मात्र सीमित हुन पुगेका महिला अधिकारवादीहरुको भनाइरहेको छ ।
पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको इतिहाँसमा उल्लेख छ । त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए ।