सदरमुकाम बेनीमा सञ्चालित १० दिने छालाको हेरचाहसम्बन्धी तालिम आइतबार सकिएको छ । प्रजिया व्युटिपार्लर एण्ड टेनिङ सेन्टरको आयोजनामा नयाँ उद्यमी सिर्जना गर्ने र व्युटिपार्लर व्यवसायमा महिलाको आकर्षण बढाउने उद्देश्यसहित आयोजित तालिमको समापन गरिएको हो ।

तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारणले गर्दा समाजमा महिला हिंसा हुने गरेकाले पेशा, व्यवसायबाट आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले थोरै मेहनत र सानो लगानी गरेरै भए पनि आर्थिक उपार्जनको क्षेत्रमा लाग्नुपर्ने बताउँदै स्वरोजगार बन्ने उद्यमीका लागि नगरपालिकामार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो ।

तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम सिकेपश्चात् पेशा तथा व्यवसाय सञ्चालन गर्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले पछिल्लो समय कस्मेटिक तथा व्युटिपार्लर व्यवसाय फस्टाउनुका साथै यसप्रति आकर्षण समेत बढ्दै गएकाले ग्राहकलाई लक्षित गरेर गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष अमर बानियाँ, महिला अध्यक्ष राधिका सापकोटा, सौन्दर्यकला व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रमिला जोशी श्रेष्ठले मन्तव्य व्यक्त गर्दै तालिमका सहभागीहरुलाई अब तालिम लिएर आफ्नो पेशा तथा व्यवसाय सञ्चालन गरी आत्मनिर्भरको बाटोमा अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

तालिम अवधिभरमा छाला स्वस्थ राख्न अपनाउनुपर्ने उपाय, छालाको बनावट तथा काम, छालाको अध्ययन र हेरचाह, प्राथमिक उपचार, छाला क्लिन्जीङको उद्देश्य, साधारण मेकअपमा प्रयोग गरिने सामान, छालाका प्रकारलगायत विषयहरुमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

प्रजिया व्युटिपार्लर एण्ड टे«निङ सेन्टरका प्रोप्राइटर गंगा थापा कार्कीले निःशुल्क रुपमा सञ्चालन गर्नुभएको तालिममा १५ जनाको सहभागिता रहेको थियो । तालिमको आयोजक संस्था प्रजिया व्युटिपार्लरका प्रोप्राइटर कार्कीको अध्यक्षता, तालिमका सहभागीद्वय राधा शर्माको स्वागत र संगीता ढुङ्गानाको सञ्चालनमा सम्पन्न तालिमको समापनसत्रमा सहभागी सोफिया श्रीषले अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply