कुनै समय उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमामा रहेको घलेम्दी हाइड्रो लिमिटेडमा संस्थापक र साधारण सेयर अर्थात् (आइपिओ) सय रुपैयाँमा किन्न समेत हिचकिचाउने लगानीकर्ताले मनग्य मुनाफा आर्जन गरेका छन् । संस्थापक र दोस्रो बजारबाट सेयर उठाउनेहरूले कुनै बेला ओठ–तालु सुकेको अवस्थामा अहिले भने मुल्यबाट सन्तुष्ट छन्।

कुनैसमय घलेम्दीको बेनीस्थित कार्यालयमै पुगेर सेयर खरिद गरेकी एक महिला । फाइल तस्वीर

म्याग्दी जिल्लाका स्थानीय उद्योगपति तथा प्रवासबाट फर्किएकाहरुको सक्रियतामा सुरू भएको आयोजनामा जलविद्युतमा लगानीकर्ता ओइरिएपछि पुँजीबजारमा आकर्षक पोर्टफोलियो बनाउन सफल समेत भए । संस्थापक तथा दोस्रो बजारबाट खरिद गरेका लगानीकर्ताले अहिले ३ गुणाभन्दा बढी नाफा गर्न सफल भएका हुन् ।

जलविद्युतमा अनुमान गरेभन्दा ठूलो लगानीका साथै भारतीय नाकाबन्दी, कोरोनाको महामारीका साथै सवस्टेशन समयमै तयार नहुदाँ विद्यतु समेत खेर गएको समयमा प्रति कित्ता १ सयभन्दा तल झरेको सेयरलाई दोस्रो बजारमा ४ सयसम्म बिक्री गरेपछि लगानीकर्ता उत्साहित छन् ।

दोस्रो बजारमा कारोबारमा अहिले घलेम्दी अन्य जलविद्युत आयोजना सरह बिक्री गर्नेका लागि ’हट केक’ बनेको छ । ‘लगानीकर्ताले होल्ड गरेपनि बिक्री गरेपनि फाईदा छ,‘जलविद्युतमा गरेको लगानी खेर जादैन भन्ने प्रमाणित गर्न सफल भएका छौ’ आयोजनाका अध्यक्ष किशोर सुबेदीले भने ।

उनले घलेम्दीकै कारण म्याग्दीमा निर्माणधिन अन्य जलविद्युत आयोजनामा समेत निम्न, मध्य र उच्च आर्थिक हैसियत भएकाले लगानीमा चासो देखाएको बताए । अन्य क्षेत्रको व्यापार र आय अनिश्चत हुँदा पनि घलेम्दीमा उत्पादित बिजुलीको बजार राम्रो भएकाले कम्पनी समेत नाफामा गएको बताए । जलविद्युतले लगानीकर्ताबीच विश्वास स्थापित गरेको बताए ।

घलेम्दीको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो । कम्पनीले इन्स्योरेन्सबापत एक करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर एक करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर एक करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ ।

आयोजनाबाट उत्पादन भएको विद्युतलाई प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गरिरहेको छ । धितोपत्रको दोस्रोबजार प्लाटफर्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको दुईबर्षपछि संस्थापक सेयरधनीले बिक्री गर्न पाएपछि उत्साहित छन् ।

आयोजनाको संस्थापक सेयरधनीले तत्कालिन समयमै १ लाखमा २० प्रतिशत बोनस सेयर पाएकाले पनि दोस्रो बजारमा राम्रो भएको एक लगानीकर्ताको भनाई छ । विद्युत उत्पादनपछि वित्तिय संस्थाको कर्जा चुक्ता गरी नाफा कमाउने बेलासम्म होल्ड गर्न इच्छुक नदेखिएका संस्थापक सेयरधनीले दोस्रो बजारबाटै कमाइरहेका छन् ।

करिब साढे दुई वर्षदेखि विद्युत उत्पादन तथा बिक्री सुरु गरेको घलेम्दी हाइड्रोको आम्दानी अघिल्लो बर्षसम्म बाँकी अन्यको आयोजनाको तुलनामा सबैभन्दा कम थियो ।जलविद्युतमा लगानीकर्ता आर्कषित हुदाँ घलेम्दीका लगानीकर्ताले मौका छोप्न पाएको अर्का एक लगानीकर्ताको भनाई छ ।

घलेम्दीका लगानीकर्ता म्याग्दी खोलामा आर्कषित

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनामा घलेम्दीका लगानीकर्ता समेत आर्कषित देखिन्छन् । दोस्रो बजारमा घलेम्दीको सेयर बिक्री गरी २५ मेगावाट क्षमताको म्याग्दी खोलामा संस्थापक सेयर बन्नेहरु धेरै रहेको अनुमान गरिन्छ ।

म्याग्दी खोलाको सुरुङ देखि आयोजनाको भौतिक संरचना निर्माण गरिने सबै क्षेत्रमा सडक सञ्जालको सहज पहुँच भएकाले ३ बर्षभित्र परीक्षण उत्पादनको सम्भावना रहेकाले लगानीकर्ताको नजर परेको हो । धौलागिरि कालिका हाइड्रो लिमिटेडले प्रर्बधन गरेको आयोजनाले फागुन मसान्तसम्म संस्थापक सेयर सदस्य बन्न लगानी खुल्ला गरेको छ । १ लाखदेखि १० लाखसम्मको लगानी अवसरलाई सदुपयोग गरिरहेका छन् ।

म्याग्दी खोलाका लगानीकर्ता अधिकांस म्याग्दीकै भएको र कम लागतमा ३ बर्षभित्र परीक्षण उत्पादन दिने लक्ष्य सहित काम भइरहेकाले समेत फागुनभित्र लगानी गरेकाले आयोजना नेप्सेमा सूचीकृत भएको दुईबर्षपछि दोस्रो बजारबाटै बिक्री गर्न पाउने छन् । म्याग्दीमा दानाको प्रशारण लाइन बाहेक पश्चिम म्याग्दीको डाँडाखेतको प्रशारण लाइन तयार भएपछि अहिले सेयर किन्नेलाई दोस्रो बजारमा ५ गुणासम्म म्याग्दी खोलाकै सेयर बिक्री गर्न सक्ने अवस्था रहेको आयोजना पक्षको भनाई छ।

जलविद्युतमा संस्थापक र सर्वसाधारण सेयरमार्फत गरिएको लगानी जोखिममा नपर्ने सेयर विश्लेषक बताउँछन् । जलविद्युत आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माण सकिएपछि आयोजनालाई तीनबर्षभित्र परीक्षण उत्पादनमा लैजाने बताए । मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ ।

सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको छ ।आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ ।

हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साईट कार्यालय, आवासगृह सहितका भौतिम संरचना समेत तयार भइसकेको छ भने पहिलो, दोस्रो कोराना भाइरसकाका कारण निर्माणकार्यमा समस्या भएपनि अहिले जनशक्तीको ब्यवस्थापन भएकाले तिब्र गतिमा अगाडी बढेको छ ।

Leave a Reply