शून्य ब्याजदरमा ऋणका लागि ३० दिने सूचना, यस्तो चाहिन्छ आवश्यक कागजात

गण्डकी प्रदेश सरकारले कोरोना महामारीबाट धराशायी बनेका व्यवसायलाई पुनर्जीवन दिन ‘व्यवसाय जीवन रक्षा कोष’ कर्जाका लागि ३० दिने सूचना निकालिएको छ । गतबर्ष पहुँचवाला र केही सिमित ब्यक्तिहरुले मात्रै लाभ लिएको गुनासो गरिएपछि यसबर्ष बाणिज्य बैंकसँगै विकास बैंकलाई थप गर्न कार्यविधि नै संसोधन समेत गरिएको छ ।

कोरोनाका कारण संकटग्रस्त साना तथा मझौला व्यवसायलाई सहज हुने गरी फागुन २० गतेदेखि चैत्र १९ गतेभित्र ५० लाख वा सो भन्दा कम कोरोबार गर्ने उद्यमी र ब्यवसायीलाई कर्जा उपलब्ध गराइने गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

साना उद्यमी तथा साना व्यवसायीलाई आर्थिक सहायता गर्ने गरी गण्डकी प्रदेशले एक अर्बको वार्षिक कोष खडा गर्ने घोषणा गरेको थियो । गत आवमा व्यवसायीलाई शून्य ब्याजदरमा ऋण दिन प्रदेश सरकारले नेपाल राष्ट्र बैंकसँग सहकार्य सम्झौता गरेको थियो ।

कोभिड प्रभावित साना तथा मझौला व्यवसायीलाई लक्षित गरी ल्याइएको कर्जा सुविधामा ५० हजारदेखि १५ लाख रुपैयाँसम्म शून्य ब्याजदरमा ऋण लिन पाइने छ । व्यवसाय जीवन रक्षा कर्जा ३ वर्षका लागि हुनेछ ।

कर्जा प्रक्रिया सरल बनाउन सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको मौज्दात उपकरण, सवारीसाधन वा जग्गाजमीन धितो राख्न सकिनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा सुरु भएको कर्जा सुविधा वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलको पालामा समेत निरन्तरता पाएको छ ।