मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम आज (शनिबार) बेनीमा सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक तथा घरायसी खाद्यान्न उत्पादन समूहका सदस्यहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो ।

५ दिनसम्म चलेको तालिममा सुआहारा कार्यक्रमको परिचय, समुदायको आर्थिक तथा सामाजिक अवस्था, समूहको अवस्था विश्लेषण, पदाधिकारीको भूमिका र दर्ता प्रक्रिया, समूह परिचालन, सम्पर्क तथा समन्वय, वित्तीय साक्षरता, बचत, ऋणको अवधारणा, पारिवारीक बजेट निर्माण, लेखापालनको अर्थ तथा महत्व, आम्दानी र खर्चको विवरण, कार्ययोजना निर्माण, लेखा व्यवस्थापनलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

समूहको सक्रियता गठन, पुनर्गठन तथा दर्ता प्रक्रियाका लागि समूहको क्षमता अभिवृद्धि गर्ने, समूह परिचालन तथा व्यवस्थापनको लागि आवश्यक आधारभूत सिपको विकास गर्ने र बचत तथा ऋण समूहको हिसाबकिताबको विषयमा आवश्यक आधारभूत सिपको विकास गर्ने तालिमको उद्देश्य राखिएको थियो । तालिमको विजय विकास स्रोत केन्द्र गैंडाकोटका स्रोतव्यक्तिद्वय हरिप्रसाद आचार्य, प्रकाश ढकाल र सुआहारा कार्यक्रमको घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत केशव भूषालले सहजीकरण गर्नुभएको थियो ।

मिलन म्याग्दीका अध्यक्ष कमला थापाको अध्यक्षतामा समापन भएको तालिममा सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, प्रशिक्षक हरिप्रसाद आचार्य र सहभागी हरिमाया घर्तीले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम समापनसत्र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply