जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकालाई प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले तोकिएको समयभित्र मतदाताले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको बताउनुभयो । ‘मतदाता परिचयपत्र आफुसँग नभएको अवस्थामा आवश्यक प्रक्रिया पुरा गरी आउनुपर्ने छ,‘जिल्ला भित्रका सबै स्थानीय तहलाई जानकारी गराइएको छ’ अधिकारी घिमिरेले भन्नुभयो ।

जिल्लाभित्र निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन समेत मतदाताले आफ्नो साथमा परिचय पत्र राख्नुपर्ने प्रमुख घिमिरेको भनाई छ । यता जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् ।

मतदातालाई दोहोरो झन्झट हुने भएकाले मतदाताले नै प्र्रतिलिपि बनाउन अनिच्छुक देखिने जोखिम रहेकाले सहज र सरल प्रक्रिया बनाउनुपर्नेमा जोड दिइएको छ । आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्विरसहितको मतदाता नामावली सङ्कलन गरिएकोमा ८६ हजार मतदाता कायम हुन सक्ने जनाइएको छ ।

Leave a Reply