चालु आर्थिक वर्ष २०७८÷७९ को साढे छ महिनाको अवधिमा करिब १३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको कार्यालयले गएको साढे छ महिनामा पुँजीगततर्फ कुल बजेटको १२ दशमलव ९ प्रतिशत बजेट खर्च गरेको हो ।

चालु वर्षमा विनियोजन भएको कुल बजेटको यही माघ १८ गतेसम्म पुँजीगततर्फ दुई करोड ५१ लाख ७२ हजार अर्थात् १२ दशमलव ९ प्रतिशत बजेट खर्च भएको मालिका गाउँपालिकाका लेखा अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । उहाँले चालु आवमा पुँजीगततर्फ कुल १९ करोड ५१ लाख ३९ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा छ महिनाको अवधिमा सो परिमाणको बजेट खर्च भएको जानकारी दिनुभयो ।

यसैगरी चालु आवमा मालिका गाउँपालिकाको कुल बजेट ४४ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेकोमा चालुतर्फ २५ करोड सातलाख २२ हजार र पुँजीगततर्फ १९ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।

चालुतर्फ साढे छ महिनाको अवधि माघको मध्यसम्म आठ करोड ९९ लाख ७६ हजार रुपैयाँ अर्थात् ३५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखापाल सागर पौडेलले बताउनुभयो । पुँजीगत बजेटको तुलनामा चालुतर्फ २३ प्रतिशत बजेट बढी खर्च भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै कुल बजेटको चालु र पुँजीगत शीर्षकमा गरी साढे छ महिनामा जम्मा ११ करोड ५१ लाख ४९ हजार चारसय ८८ रुपैयाँ ५० पैसा अर्थात् २५ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ ।

चालु वर्षमा गाउँपालिकाको विभिन्न क्षेत्र र उप क्षेत्रअन्तर्गत आर्थिक विकासतर्फ तीन करोड ४४ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३५ लाख ४२ हजार चारसय ६३ अर्थात् १० दशमलव २८ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकासतर्फ १९ करोड २९ लाख ५२ हजार रुपैयाँ विनियोजन भएकोमा छ करोड ४१ लाख ४९ हजार छ सय १८ रुपैयाँ अर्थात् ३३ दशमलव २५ प्रतिशत बजेट खर्च भएको आर्थिक प्रशासन शाखाको तथ्याङ्क छ ।

पूर्वाधार विकासतर्फ आठ करोड ४२ लाख १७ हजार बजेट विनियोजन भएकोमा ३८ लाख ९७ हजार नौसय ६५ रुपैयाँ अर्थात् चार दशमलव ६३ प्रतिशत बजेट खर्च भएको छ ।

सुशासन तथा अन्तर्सम्बन्धित क्षेत्रतर्फ दुई करोड नौलाख रुपैयाँ बजेट खर्च भएकोमा एक करोड सातलाख ६१ हजार आठसय ७२ रुपैयाँ अर्थात् ५१ दशमलव ४९ प्रतिशत खर्च भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । विपद् व्यवस्थापनतर्फ एक करोड ७९ लाख रुपैयाँ बजेट रहेकोमा एक करोड ५१ लाख तीनसय ३२ रुपैयाँ अर्थात् ५६ दशमलव १५ प्रतिशत बजेट खर्च भएको छ ।

पुँजीगतमा छुट्टिएर खर्च हुन बाँकी रहेको बजेट आउँदो असार महिनासम्म खर्च हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । चालु वर्षमा गाउँपालिकामार्फत शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण तथा पूर्वाधारको क्षेत्रलाई विशेष जोड दिएर बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको भनाइ छ ।

Leave a Reply