निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)पदमा प्रशासन सेवातर्फ यसबर्ष म्याग्दीबाट एक जनाको नाम सिफारिस भएको छ ।

गत माघ १६ गते प्रकाशित भएको नतिजामा बेनी नगरपालिका–६,रिठाबोटका पूर्णबहादुर खत्रीले प्रशासन, लेखा परीक्षण, संसद सेवातर्फ अन्तरवार्तामा सहभागी ४८५ जना सफल उम्मेदवारमा ३६ औं नम्बर र प्रशासन सेवा सामान्य प्रशासन समूहमा ३९२ जनामध्ये ९ नम्बर योग्यता क्रममा सिफारिस हुनुभएको छ ।

यसबर्ष म्याग्दीबाट तीनजनाले लिखितमा नाम निकाल्न सफल भएतापनि अन्तरवार्तामा सफल भएर सिफारिस हुने खत्री एक्लो उम्मेदवार हुनुहुन्छ।

बि.स २०७२–सालमा नायब सुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएका खत्रीले २०७८–शाखा अधिकृत (न्याय सेवा) तथा प्रशासन सेवामा लिखित परीक्षामा सफल हुनुभएको थियो ।

प्रशासन तथा न्याय दुवै नागरिकसँग प्रत्यक्ष जोडिने र घुलमिल हुने क्षेत्र भएपनि प्रशासन सेवाबाटै काम गरेको अनुभवलाई निरन्तरता दिन प्रशासन सेवा रोजेको खत्रीले बताउनुभयो ।

‘भदौमा आउनुपर्ने नतिजा माघमा आयो,‘प्रशासनतर्फबाटै नागरिकको सेवा गर्न चाहना पुरा भएको छ’ खत्रीले बेनीअनलाइनलाई भन्नुभयो । न्याय सेवाको अन्तरवार्ता नलिएर लिएको रिस्क प्रशासन सेवमा सफल भएर पुरा भएकोमा सन्तुष्ट रहेको खत्रीको भनाई छ ।

‘निजामति सेवाबाट म्याग्दीमा थप सेव गर्ने चाहना छ,‘जहाँ भएपनि उत्कृष्ट सेवा दिने प्रयास गर्नेछु’ खत्रीले भन्नुभयो । यसअगाडी खत्री जिल्ला प्रशासन कार्यालय म्याग्दीमा नायब सुब्बामा कार्यरत हुनुहुन्थ्यो। पछिल्लो समय म्याग्दीबाट निजामती क्षेत्रमा युवाहरूको आकर्षण बढेको खत्रीले बताउनुभयो ।

यसअगाडी साउन महिनामा लोकसेवा आयोगद्धारा प्रकाशित न्याय सेवा तर्फको शाखा अधिकृतको नतिजामा म्याग्दीबाट कानुन समुहमा कुमार रिजाल र न्याय समुहमा सविता ढुंगाना र होमबहादुर जुग्जाली सिफारिस हुनुभएको थियो ।

उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारीप्रति अझै म्याग्देलीको आर्कषणले निजामति सेवामा सबैभन्दा कम उत्तीर्ण भएर आयोगको सिफारिसमा पर्नेमा म्याग्दी जिल्ला समेत पर्छ ।

छिमेकी जिल्ला बागलुङ र पर्वतको तुलनामा निजामति क्षेत्रमा म्याग्दीको कमजोर् उपस्थिती भएपछि स्थानीय तहले समेत लोकसेवा आयोगको तयारीका लागि समेत बजेट विनियोजन गरी कक्षा समेत सञ्चालन गर्न थालेपछि लोकसेवाप्रति आकर्षण बढेको छ ।

Leave a Reply