नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले नेकपा एमालेसँग कुनै पनि पार्टीको तुलना हुन नसक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको अधिवेशनलाई सम्बोधन गर्दै थापाले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेपछि कांग्रेस, माओवादी र अन्य दलहरुले गठबन्धन बनाएको आरोप लगाउनुभएको हो ।
‘एमाले एक्लै मैदानबाट दुईतिहाईको मत लिएर आउँछ,‘एक्लै भिड्न नसक्नेहरु गठबन्धन बनाएर चुनावमा जादैछन्’ सांसद थापाले भन्नुभयो । उहाँले काम, नीति तथा कार्यक्रम र अन्य हिसाबले एमालेसँग कांंग्रेस र माओवादीको तुलना हुनै नसक्ने बताउनुभयो ।
एमालेले हाइटेक प्रविधिको प्रयोग गरेर महाधिवेशनमा मतदान गरी तुरुन्तै मतपरिणाम सार्वजनिक गरेको भए पनि कांग्रेसको महाधिवेशनमा हिल ट्याङ्कमा मतदान गरेर रिजल्ट आउन हप्तौं दिन लगाएको आरोप समेत लगाउनुभयो । ‘कांग्रेस र एमालेको महाधिवेशनले नै प्रष्ट पारेको छ, कुन पार्टी प्रविधिमैत्री छ भन्ने’ प्रतिनिधि सभा सदस्य थापाले भन्नुभयो ।
उहाँले आफ्नो कार्यकालमा म्याग्दी जिल्लामा थुप्रै विकास निर्माणका कामहरु भएको बताउँदै जिल्लाको पर्यटकीय क्षेत्रमा पदमार्ग तथा झोलुङ्गे पुल निर्माण र सडकमा पक्की मोटरेबल पुल निर्माण भैरहेको बताउनुभयो । उहाँले म्याग्दीलाई हिमाली जिल्लाका रुपमा सुचीकृत गरिएको बताउँदै जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको विकास, संरक्षण तथा प्रवद्र्धनको काम भएको बताउनुभयो ।