पटक-पटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६,भिरकाटेमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको धार नै परिवर्तन भएपछि कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले करिब ३ सय मिटर लामो सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु गरेको छ ।

अन्नपूर्ण–१ दोबाको सुनारी गाउँ हुदै बग्ने ठाडो खोलाको बेगको असरले हरेक बर्ष तीव्र रुपमा भइरहेको कटानका कारण थप चट्टान कटिङ्ग असम्भव जस्तै भएपछि सुरूङ मार्गको आवश्यकता देखिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

‘सुरुङमार्ग बनाउन तीन बर्ष अगाडी नै प्रारम्भीक अध्ययन गरिएको थियो,यसबर्ष उच्च प्राथमिकतामा राखी फेरी अध्ययन अगाडि बढाइएको छ’ प्रमुख प्रजापतिले बेनीअनलाइनलाई भन्नुभयो । बेनी–जोमसोम सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थान मध्येमा पर्ने भिरकाटेको समस्या समाधानको उपयुक्त विकल्प नै सुरुङमार्ग भएकाले प्रमुख प्रजापतिको भनाई छ ।

एक मिटर सुरूङमार्ग बनाउन १७ लाख अनुमान गरिएकाले करिब ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाले जनाएको छ । ‘लागत अझै पनि थपघट हुनसक्छ,‘ सवारीसाधन आउन र जानका लागि दुईवटा लेन हुनेछ’ प्रमुख प्रजापतिले भन्नुभयो ।

सुरुङमार्ग दोबा गाउँ जाने बेलिब्रिज नजिकको पहाडबाट पोखरेबगरतर्फको सडकखण्डमा छुने गरी बनाइने सुरुङमार्ग सवारीसाधन आवतजावत गर्ने मिल्ने गरी दुई लेनको ११ मिटर फराकिलो हुने छ । आयोजनाले बेनी– मालढुंगा देखि चिनको सिमाना कोरला नाकासम्म विभिन्न प्याकेजमा काम भइरहेको छ ।

बेनी–जोमसोम सडकखण्ड नदी कटान, प्राकृतिक विपत्ती लगायतका कारण ढिलाई भइरहेकाले अति जोखिम स्थानमा खर्चिलो विकल्पको प्रयोग गरेर भएपनि स्तरोन्नतिको काम अगाडी बढाउन नेपाल सरकार समेत सकारात्मक देखिएकाले आयोजनालाई सहज भएको छ ।

Leave a Reply