धौलागिरिमै पहिलो पटक ‘प्रथम धौलागिरि चलचित्र महोत्सव २०७८’ हुने भएको छ । अहुरी इन्टरटेन्मेन्टले पुस ७ देखि १० सम्म चार दिने चलचित्र महोत्सवको आयोजना गर्न लागेको हो ।

धौलागिरिमा पहिलो पटक आयोजना गर्न लागिएको चलचित्र महोत्सवमा धौलागिरि क्षेत्रमै छायाङ्कन भएका सानो तथा ठुलो पर्दाका गरी ३० भन्दा धेरै चलचित्र प्रदर्शन गरिने अहुरी इन्टरटेन्मेन्टका अध्यक्ष विशाल लोहनीले बताए ।

सदरमुकाम कुश्मा बजारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीले सुस्ताएको चलचित्र बजारलाई ब्युँझाउने गरी कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

साथमा धार्मिक तथा प्राकृतिक पर्यटनमा फड्को मार्दै गरेको पर्वत सहित धौलागिरिका अरू जिल्लालाई समेटेर चलचित्र छायाङ्कन गर्नेहरूका लागि पनि चलचित्र महोत्सव एक अवसरका रूपमा उपयोग हुने आयोजकको विश्वास छ ।

सदरमुकामको सिद्धेश्वर चलचित्र हलमा आयोजना हुने चार दिने महोत्सवका अवसरमा धौलागिरिमा जन्मिएर चलचित्रका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका निर्माता, निर्देशक तथा कलाकारलाई सम्मान समेत गरिने भएको छ ।

Leave a Reply