गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ । शुक्रबार म्याग्दीको उद्योग वाणिज्य संघले सचिवालयमा आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा बोल्दै उहाँले लगानीमैत्री वातावरण बनाइने बताउनुभएको हो ।

कानुन मन्त्री थापाले यसअघि निर्माण भएका कतिपय कानुनहरु अप्ठ्यारा र झन्झटिला रहेको हुँदा यसलाई संशोधन गर्न आवश्यक रहेको बताउँदै लगानीमैत्री र उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग, व्यवसायहरु दर्ता तथा नवीकरणसम्बन्धी विधेयक प्रदेश सभाबाट पास गरिसकिएको बताउँदै प्रदेश राजधानी पोखरामा कम्पनी रजिष्टारको कार्यालय र जिल्ला जिल्लामा शाखा कार्यालयहरु स्थापना गरिने जानकारी दिनुभयो ।

प्रदेश राजधानीमा कम्पनी रजिष्टारको कार्यालय र जिल्लामा शाखा कार्यालय स्थापना भएपछि उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्न सहज हुने बताउँदै मन्त्री थापाले कर छुट एवं जरिवाना न्युनीकरणमा समेत सहजता आउने बताउनुभएको छ । उहाँले लामो समय आफू पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर काम गरेको हुँदा अहिले कानुन निर्माण गर्ने ठाउँमा पुगेको बताउँदे आफूले उद्योगी, व्यवसायीको समस्यालाई नजिकबाट बुझेको बताउनुभयो । उद्योग, व्यवसायमैत्री कानुन बनाउन आफू लागिपर्ने मन्त्री थापाको भनाइ छ ।

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले फर्निचर तथा क्रसर उद्योग दर्ता र सञ्चालनमा समस्या रहेकाले यसलाई कानुन संशोधन वा नयाँ कानुनमार्फत सच्याउनुपर्ने माग गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योग दर्ता र नवीकरण गर्न उद्योगीलाई समस्या रहेको भन्दै पर्वत र बागलुङमा समस्या आएको अवस्थामा पनि म्याग्दीले विद्युत अनियमितता झेल्न बाध्य भएकाले समाधान गर्न मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष लिलाराम गौतम, कार्यसमिति सदस्य सरोज बानियाँ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र महासचिव अमित बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

Leave a Reply