उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी भै टल्किएका धवलागिरि,निलगिरि,अन्नपूर्णलगाएतका हिमश्रृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट,बेनी–बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्रे भएपछि झन बढेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्डको १ हजार ३ सय मिटर सडक कालोपत्रे गरिएपछि रत्नेचौरको रौनक बढेको हो ।
समथर फाँटमा झुलेको धान,फाँटको बीचमा चिटिक्कको कालोपत्रे सडक र पृष्ठभूमिमा धवलागिरि,निलगिरि लगाएतका हिमश्रङ्खलालाई पुष्ठभूमीमा पारेर तस्वीर खिचाउन,टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरु आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ ।
बेनी नगरपालिकाका तीनवटा वडालाई समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे शुरु भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष १ हजार ३ सय मिटर सडक कालोपत्रे गर्ने योजना अनुसार १ हजार ३ सय मिटर सडक पीच गरिएको बेनी नगरपालिका २ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए । उनका अनुसार, कालोपत्रेसंगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्नेलगायतका स्तरोन्नतिका कामहरु भएका छन् ।
सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत सडक कालोपत्रे गर्न १ करोड ३७ लाख र सडक स्तरोन्नति गर्न १ करोड १२ लाख ७६ हजारमा सडक कालोपत्रे र स्तरोन्नतिको काम भएको वडाअध्यक्ष रावलले बताए ।
सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नति लगाएतका कामहरु सम्पन्न भैसकेका र आगमी वर्ष अर्जमसम्म कालोपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए ।
सडकको ट्र्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्रे आयोजना सञ्चालन भएपछि स्थानीयबासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए । ‘गाउँकै नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, उहाँकै पहलमा ग्रामीण सडक कालोपत्र हुन थालेको छ, यहाँबाट सुरु भएको कालोपत्रे अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौं नागरिक पत्यक्ष लाभान्वित हुन्छन्,’ उनले भने ।
कच्ची सडकका कारण नियमित सवारी साधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकोमा सडक कालोपत्रे सुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रेसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिने छ ।