म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् ।

उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् ।

बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि गाउँपालिका वडा नं. ३ की किशोरी मुना विश्वकर्माले बताइन् । गाउँमा बालविवाहले निम्त्याएको विकृतिबारे अभिभावकलाई बुझाउने गरेको किशोरी विश्वकर्माको भनाई छ ।
सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्राउन यहाँका किशोरीहरुले हप्ताको एक दिन घरघर गएर अभिभावकलाई बुझाउने गरेका छन् । अहिले यहाँका केही स्थानीय तहमा बालविवाहविरुद्ध किशोरी संगठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको छ ।

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको मालिका गाउँपालिका वडा नं. ३ रुमका दलबहादुर विकले बताए । यहाँका स्थानीय तहले पनि बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

धौलागिरि र मालिका गाउँपालिकाले बालविवाहविरुद्ध किशोरीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
मालिका गाउँपालिकाले ‘विवाहवरी २० वर्ष पारि’ भन्ने अभियान नै सञ्चालन गरेको छ भने धौलागिरि गाउँपालिकाले पनि बालविवाहविरुद्धको अभियानलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ ।

Leave a Reply