मुस्ताङको दामोदरकुण्डबाट बगेको कालीगण्डकी विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुगेर नारायणीमा मिसिन्छ । करिब पाँचसय किलोमिटर दुरी पार गर्दैगर्दा यसले फरक क्षेत्र र भूगोललाई समेटछ ।
पर्यावरणीय, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो नदीबारे यतिबेला निकै नै चर्चा चुलिएको छ । कारण–कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउ नदीमा खसाल्ने योजना सहित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना बनाउने सरकारी घोषणा ।
गण्डकी प्रदेश सरकार कालीगण्डकी डाइभर्सनबारे खुलेरै विरोधमा छ । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको तानातानमा अहिले कालीगण्डकी नदी परेको छ । तर, संरक्षणकर्ताहरु भने कालीगण्डकीलाई उपयोग गर्ने तरिका भन्दा पनि संरक्षण अभावमा अलपत्र परेको भन्दै चिन्ता जनाउँछन् । उनीहरु भन्छन, ‘जसले बढी यो नदीको संरक्षण गर्नुपर्ने हो, उसैले दुरुपयोग गरिरहेको छ । नदीको संरक्षण नहुँदा यसलाई फरक प्रयोजनमा उपयोग गर्न खोजिएको हो।’
चिरञ्जीवी शर्मा म्याग्दीका कानुन व्यवसायी हुन । शर्माले पाँचवर्ष अघि बेनी नगरपालिका विरुद्ध जिल्ला अदालतमा रिट दायर गरे । रिटको विषय थियो–नगरपालिकाले बजारबाट निस्केको फोहर सिधै लगेर कालीगण्डकीमा मिसायो र त्यसलाई रोक्नुपर्छ । त्यतिमात्र नभई बधशालाबाट निस्केको फोहर पनि कालीगण्डीमै मिसिनेगरि पूर्वाधार बनाइयो । शर्माको रिटपछि अदालतले स्थलगत अवस्था बुझ्नु भनेर नगरपालिकालाई भनेपनि विकल्प नभएको भन्दै फोहर फाल्न रोकिएन । अहिले पनि बेनीबजारबाट निस्केको सबै फोहर कालीगण्डकीमै मिसाईन्छ ।
शर्माको पहल एउटा उदाहरण मात्र हो । कालीगण्डकीलाई सबैतिरबाट संरक्षणविहीन अवस्थामा छाडिएको अध्येता बताउँछन । कालीगण्डकीका अध्येता कुलराज चालिसेका अनुसार धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा कालीगण्डकीप्रति साहै्र झेल गरिएको छ । फोहर फाल्ने मुख्य ठाउँ कालीगण्डकी बनाईएको छ । सहरबाट निस्केको ढल सिधै नदीमा मिसाइन्छ । फोहर बिसर्जन, ढल मिसाउने, अतिक्रमण गर्ने काम हुँदा पनि संरक्षणमा चुनौती थपिएको उनले बताए ।
‘कालिगण्डकी फोहर बोक्ने नदी होईन, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो नदीलाई संरक्षण गर्नुपर्नेमा कतै चाँसो छैन,’ उनले भने, ‘सुरुङ बनाएर पानी लैजाने कुरा गर्दा हामी विरोधमा छौ । तर, संरक्षण अभावमा कालीगण्डकी पिल्सिएको छ ।’ उनका अनुसार स्याङजा, पर्वत र गुल्मीको मिलन सेतीवेणीमा कालीगण्डकीमा मिसिने गरि ढल खसाईको छ । ‘गण्डकीलाई माता भनेर पुजा गर्ने हो, शालिग्राम पुज्ने ठाउँ (सेतीवेणी) को आश्रमको शौचालयको पाइप कालीगण्डकीको श्रोतमा मिसाईएको छ,’ चालिसेले भने, ‘कालीगण्डकीलाई सम्मान गरिएको छैन । धर्मशालाका पाइप सिधै नदी वा श्रोतमा मिसाइएको छ ।’
उनका अनुसार कालीगण्डकीका धेरै घाटमा शवको अन्तिम संस्कार गरिन्छ । शवको संस्कारपछि बचेका गुन्द्री, बास, कपडा बगाउने ठाउँ पनि कालीगण्डकी नदी नै बन्ने गरेको छ । ‘कालीगण्डकीप्रति हामीले सम्मान गरेका छैनौ । खालि महत्व छ भनेर मात्र बोलिरहेका छौ,’ उनले भने, ‘अतिक्रमण पनि कम छैन । सहरीकरणसँगै अतिक्रमणको चपेटामा पनि कालीगण्डकी परेको छ । धौलागिरी अञ्चलमा अधिक अतिक्रमण छ ।’
उनका अनुसार कालीगण्डकी किनारमा ठाउँठाउँमा आश्रम बनाइएको छ । ती आश्रम पनि नदीकै जग्गामा बनेका छन । आश्रमको फोहर सिधै कालीगण्डकीमा पु¥याइएको उनले बताए । चालिसेका अनुसार कालीगण्डकीमा पानी, मदिराका बोटल, जुत्ताचप्पल यत्रतत्र बगेका देखिन्छन् । मान्छे पोलेका काठका मुढा बगिरहेका छन । ‘संरक्षण भन्ने कतै देखिन्न । नवलपुर, पाल्पा, स्याङजा र तनहुँमा समस्या कम छ,’ उनले भने, ‘जसले पुजा गरेको छ उसैले नोक्सान गरेको छ ।’
अर्का विश्लेषक विश्व सिग्देल पनि सुरुङमार्ग बनाएर पानी लैजान खोज्नु पटक्कै जायज नभएको बताउँछन । तर, कालीगण्डकीले सही रुपमा संरक्षण नपाउँदा गलत नजर परेको उनको भनाई छ । उनका अनुसार पछिल्लो समय कालीगण्डकीको दायाँबायाँ ठुलो बस्ती बसिसकेको छ । कालीगण्डकी किनारमा ठाउँठाउँमा सहर विकास भएका छन । ती सहरको फोहरमैलाको निकास कालीगण्डकी बनेको उनले बताए । ‘कालीगण्डकीको अतिक्रमण अति छ, दुर्घन्ध उस्तै छ,’ सिग्देलले भने, ‘अतिक्रमण र दुर्गन्धबाट नदी जोगाउन जरुरी छ ।’ कालीगण्डकीको संस्कृति, प्रकृति, पर्यावरणलाई संरक्षण नभएको उनले बताए ।
‘पहिला संरक्षण गरौ, त्यसपछि बल्ल विकल्पमा कुन रुपमा उपयोग गर्ने भन्ने योजना बनाऔं,’ उनले भने । उनले कालीगण्डकीको संरक्षण नै नभएको बताए । ‘कालीगण्डकीलाई प्रेम गरेका छैनौ,’ उनले भने, ‘कालीगण्डकीलाई पे्रम नगर्दा यसलाई अन्यत्र उपयोग गर्न खोजिएको हो । कालीगण्डकीलाई चलाउन हुँदैन, जस्ताको तस्तै बग्न दिनुपर्छ । म पूर्णरुपमा टनेलको विरुद्धमा छु । तर संरक्षणमा भने ध्यान दिनुपर्छ ।’
उनका अनुसार संरक्षण नहुँदा कतिपय ठाउँमा त नदीको मापदण्ड नै छैन । ‘संरक्षणमा नजाने तर, टनेलको कुरा निस्कँदा विरोध मात्र गरेर भएन, सम्पदा हो भने जोगाउनुपनि पर्छ । अब संरक्षणबारे पनि बोल्न थालौ,’ सिग्देलले भने, ‘कालीगण्डकी बचाउने योजना बनाऔं ।’ अहिले संरक्षण नहुँदा जसले पायो उसैले उपयोग गर्छु भनेका छन ।’
कालीगण्डकीकै सम्पत्ति मानिने शालिग्रामको चोरी निकासी व्यापक भएको उनले बताए । ‘शालिग्रामको संरक्षणको गर्न नसक्नेले नदी जोगाउन सक्दैन,’ उनले भने, ‘अहिले संरक्षण नहुँदा अन्यत्र उपयोग गर्न खोजिएको हो । अबको पहिलो काम नदी संरक्षण गर्ने हो । त्यसपछि बल्ल उपयोगबारे बोल्न थालौंला ।’ nagariknews.com