‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्ग भन्दा पनि महान हुन्छन् । रामायणमा आफ्ना भाइ लक्ष्मणलाई सम्झाउँदै भगवान रामले भनेको यो उक्तिले अहिलेको विपद्कालीन अवस्थामा आफ्नै जन्मथलो सुरक्षित ठान्दै शहरबाट गाउँ फर्किएका व्यक्तिहरुको मनोभावनालाई समेत सम्वोधन गरेको छ ।
गाउँ नै गाउँले भरिएको नेपाली समाजका अधिकांश युवाहरुको शहर पस्ने,वस्ने,पढ्ने, जागिर खाने र रमाउने चाहना हुन्छ । त्यही चाहनालाई पूरा गर्न शहर पसेर गाउँलाई विर्सनेहरु पनि धेरै नै हुन्छन् ।
तर, शहरमा रमाएर गाउँलाई विर्सने भनेको सहज परिस्थिति हुँदा र कुनै किसिमका विपत्ति तथा महामारी नफैलदासम्म मात्र रहेछ भन्ने कुरा सन् २०१९ को अन्त्यदेखि विश्वव्यापिरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बुझ्ने÷बुझाउने अवसर दिएको छ ।
उसो त चाडपर्व र विशेष उत्सव÷महोत्सवमा पनि मानिसहरु गाउँ फर्किन्छन् । तर,त्यसरी केही दिनका लागि रमाइलो गर्न गाउँ आएकाहरुको मनमा ग्रामिण जीवन र वातावरणप्रति अपनत्व र स्नेह हुँदैन ।
आफूलाई गाउँका दौतरी भन्दा फरक देखाउने,आधुनिक र सम्भ कहलाउने भित्रि मनसाय रहेको हुन्छ ।
यसपटक शहरमा कोरोना महामारीको वोझलाई थेग्न नसकेर शहरभन्दा गाउँ नै सुरक्षित मानि आफ्नो थाँतथलोमा फर्किएका म्याग्देलीहरुमा भने आफ्नो जन्मथलो र आफ्नो माटोप्रति विछट्टै माया र स्नेह देखिएको छ।
विश्वव्यापी रुपमा कोरोना महामारी शुरुभए यता म्याग्दीमा देशका विभिन्न शहर र विदेशबाट गरी दुईहजार ५ सय भन्दा बढी युवाहरु गाउँमा फर्केका जिल्लाका ६ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा ६ वटा स्थानीय तहहरु छन् ।
२०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १ लाख १३ हजार ६सय ४१ रहेको छ । त्यसमा महिलाको संख्या ६२ हजार २ सय ४६ अर्थात् कूल जनसंख्याको ५४ दशमलव ७७ प्रतिशत रहेको छ भने पुरुषको संख्या ५१ हजार ३ सय ९५ अर्थात् ४५दशमलव २३ प्रतिशत रहेको छ ।
पुरुषभन्दा महिलाको संख्या बढी रहेको म्याग्दीका अधिकांश युवाहरु वैदेशिक रोजगारका लागि विदेशमा छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्ष समूहका ४२ प्रतिशत युवाहरु बैदेशिक रोजगारीमा छन् ।
बाँकी रहेका युवाहरु पनि अध्ययन,व्यापार,रोजगार वा अन्य प्रयोजनका लागि गाउँ छोडेर शहर पसेका थिए । अहिले कोरोनाको दोस्रो लहरबाट बँच्न शहरबाट अधिकाँश युवाहरु गाउँमा भित्रिएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
म्याग्दीको सदरमुकाम बेनीसंग जोडिएको पर्वतको पारीबेनीस्थित न्यू होराइजन आवासीय उमाविका प्रिन्सिपल तथा संचालक अर्जुन पौडेल यतिबेला विद्यालयमा होइन गाउँको खेतवारीमा व्यस्त हुनुहुन्छ ।
बेनी नगरपालिका ६ का पौडेल अहिले मिनिट्रेलर हलोमार्फत खेतबारी जोत्ने,मकै गोड्ने,तरकारी लगाउने जस्ता कृषि कर्ममा आफूलाई व्यस्त बनाउनुभएको छ । प्रिन्सिपल पौडेल भन्नुहुन्छ “मान्छे शहरको रमाइलो भुलेजस्तो मात्र गर्दो रहेछ,वास्तवमा गाउँको माटोको सुगन्धमा मान्छेलाई लठ्याउन सक्ने शक्ति हुँदोरहेछ ।”
“सहर सम्पत्ति हुँदा मात्र आफ्नो जस्तो लाग्ने हो,वास्तवमा विपत्तिको बेला चाहिने भनेको त गाउँ नै रहेछ” १० वर्ष कोरिया बसेर काठमाण्डौंमा घर बनाइ होटल व्यवसाय गरी त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेका बेनी नगरपालिका २ बगरफाँटका दुर्गाबहादुर थापाले भन्नुभयो “गाउँमा जस्तो अपनत्व र आनन्द सहरमा केही गरि पनि पाउन नसकेर म त सपरिवार आफ्नै गाउँ फर्किआएँ ।”
थापाले गाउँमा आएर १२ रोपनी क्षेत्रफलमा व्यवसायिक केरा खेती शुरु गर्नुभएको छ । श्रीमती,छोरा र बुहारी दैनिक कृषि कर्ममा खटेर लाग्नु भएको छ । उहाँको श्रम देखेर गाउँमा परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसानहरुले पनि सिक्ने अवसर पाएका स्थानीय पदमपाणी शर्माले बताउनभयो ।
बेनीको कालीपुल वसपार्कका धौलागिरि यातायात कार्यालयको काउन्टरका कर्मचारी गणेश वानियाँका अनुसार जब संकट आईपर्छ तब मानिस काठमाडौं,पोखरा,चितवन र बेनी छाड्न तछाडमछाड गर्छन । यो हामीले गत वर्षको लकडाउन र २०७० सालको बैशाख १२ गते गएको भूकम्पको बेलामा पनि देखेँका थियौँ । अहिले पनि त्यही क्रम दोहोरिएको छ । उहाँका अनुसार यसपाली विभिन्न ठाउँबाट करिब ३ हजारको हाराहारीमा म्याग्देली युवाहरु जिल्लामा भित्रिएका छन् ।
संकटको बेला मानिसहरु सहर छोडेर गाउँ फर्किनुमा धेरै कारण हुनसक्छन् । ती मध्ये प्रमुख कारण भनेको आर्थिक पृष्ठभूमि र जीविकोपार्जनसंग जोडिएका कुराहरु नै भएको म्याग्दी बुहुमुखी क्याम्पसका प्रध्यापक तथा नेपाल पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष तारानाथ शर्माले बताउनुभयो ।
प्रध्यापक शर्माका अनुसार नेपाली सहरको संरचना विश्वका अरु मुलुकको संरचना भन्दा कान्छो छ । वैदेशिक रोजगारसंग नेपाली सहरको साइनो नङ र मासुको जस्तै छ । यहाँको सहरको चरित्र भनेको गाउँसंग साइनो र मितेरीको सम्वन्धको चरित्र हो । नेपाली सहर अझै पनि वयस्क भैसकेको छैन,भर्खर भर्खर वाल्यअवस्था पार गरेर युवा अवस्थामा प्रवेश गरेको यो सहरले गाउँको सहयोग विना विपत्ति र संकटलाई झेल्न नसक्ने भएकोले मानिसहरु विपत्तिको बेला सहरको भन्दा बढी गाउँको नै भर पर्ने गरेका छन् ।
शर्मा भन्नुहुन्छ “संकट वा विपत्तिको बेला सहरको वास्तविक स्वरुप र सहरमा वसोवास गरेका मानिसहरुको चरित्र उजिलिन्छ ।” यसको अर्थ सहरप्रति यहाँका वासिन्दाको विश्वासै नभएको हो त भन्ने जिज्ञासामा शर्मा थप्नुहुन्छ “विश्वासै नभएको त होइन,गाउँ छोडेर भर्खरै सहर झरेका मानिसहरुको वाध्यता हो।”
गाउँमा जीविकोपार्जन गर्न सजिलो छ ।
सहरको जस्तो तनाव र दौडधुप गाउँमा नहुने भएकाले पनि संकटको बेलामा मानिसहरु सहर छोडेर गाउँमा पस्न रुचाउने गरेका आफूले पाएको वुद्धिजीविहरुको भनाइ रहेको छ ।“संकटका बेलामा काम रोकिन्छ । मानिसको रोजगारी गुमेको छ । दैनिक आम्दानीमा कटौति भएको छ । तर,खर्च भने बढेको बढ्यौ छ । अहिले कोरोना भाईरसको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा धेरै खर्च भएको छ ।
अनलाईन कक्षा सञ्चालकले पनि मोवाईल र ल्यापटप किन्न जोड गरीरहेका छन् । कम आयस्रोत हुनेहरूका लागि यो दुर्भाग्यको कुरा हुन सक्छ । त्यसैले मानीसले शहरको महंगो जनजिवन छाड्ने गरेका छन्” रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो ।
सहर भन्दा सुरक्षित छ गाउँ
१६ वर्षदेखि कुपण्डोल ललितपुरमा व्यापार गरी बस्नु भएका म्याग्दीका ४१ वर्षिय ललित खत्री आफ्नी श्रीमती,दुई छोरा र एक छोरी सहित पसल बन्द गरेर गाउँमा फर्किनु भयो ।
काठमाण्डौंमा जमेर बस्नुएको थियो,किन गाउँमा फर्किनु भयो त ?भन्ने जिज्ञासामा उहाँले भन्नुभयो “सुरक्षाका कारण गाउँ फर्किनु प¥यो । सहरमा धेरै भीडभाड छ,संक्रमण हुने खतरा पनि उत्तिकै ।
त्यसैले संक्रमणबाट बँच्न गाउँमा फर्किका हौं ।”
“सहर त पैसा कमाउन्जेलसम्मको मात्रै हो, कमाइ हुन छोडेपछि सहरले चिन्दैन, अप्ठ्यारो परे साथ दिने मान्छे पनि पाइँदैन,कसरी वस्न सकिन्छ र संकटको बेला सहरमा” टेलिफोन संवादमा उहाले भन्नुभयो ।
बेनी अस्पतालका डा.जितेन्द्र कडेलका अनुसार शहरमा भन्दा गाउतिर नै वढि सुरक्षित हुन सकिन्छ । “हो गाउँमा धरै सुरक्षित हुन सकिन्छ किनभने त्यहा खुला ठाउ हुन्छ ,भौतिक दुरी कायम गर्न सजिलो हुन्छ । तर वढि कोरोना सङक्रमित जिल्लाहरूबाट पनि मानीसहरुको आवागमन हुदा केही जोखिम भने अवश्य छ” डा.कडेलले भन्नुभयो ।
वैदेशिक रोजगार पछि म्याग्दीका मानीसहरुको दोस्रो गन्तव्य भनेको काठमाण्डौं र पोखरा जस्ता सुविधासम्पन्न शहर नै हुने गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ती ठाउँहरुबाट धेरै मानिसहरु गाउँ फर्किसकेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका वडाअध्यक्ष मनकुमार शेरपुंजाका अनुसार काठमाण्डौं,पोखरा र बेनी बाट गाउँमा फर्किएका युवा युवतीहरुका कारण गाउँको रौनक नै फेरिएको छ ।
अध्यक्ष शेरपुंजाले भन्नुभयो “ युवा विहीन भएका गाउँहरु अहिले गुलजार भएका छन्, गाउँको रौनक नै फेरिएको छ, यहाँ आएका युवाहरु खाली बसेका छैनन्,कुनै न कुनै रुपमा कृषि कर्मसंग जोडिएका छन्, स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु गाउँलेलाई सिकाउँदै पनि छन् ।”
सम्पत्ति हुँदा र सहज अवस्था रहदा सहर नछोड्ने युवाहरु विपत्तिका बेलामा भए पनि गाउँ आउनुलाई गाउँका अग्रजहरुले स्वभाविक रुपमा लिएका छन् । उनीहरुको भनाइ छ “सम्पत्ति हुँदा शहर नै प्यारो,विपत्तिका बेला लुसुक्कै थाँतथलो ।”