सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरी आइसफल पदमार्गमा झालुङ्गे पुल नहुँदा पदमार्गको यउात्रा जोखिमयुक्त बन्ने गरेको छ एक दशकअघि नै पहिचान भएको यस पदमार्गमा पुल नहुँदा यात्रुहरु निरुत्साही हुने गरेका छन् ।पदमार्गको विभिन्न स्थानमा ५ वटा झोलुङ्गे पुल आवश्यकता रहेको चिमखोलाका गमबहादुर पुनले बताए । ‘धौलागिरी आइसफल पुग्न पर्यटकहरु आए पनि साँघुको भरमा खोला तर्नु पर्छ’ उनले भने ‘कतिपय पर्यटकहरु साँघु तर्न नसकेर बीचबाटो बाटै फर्केर जान्छन् ।’
पुनका अनुसार खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा झोलुङ्गे पुल आवश्यक छ । पुल नहुँदा यात्रामा असहज भएको आइसफल पुगेर फर्किएकी काठमाण्डौँकी सबिना ढकालले बताइन् ।
‘अरु बाटोमा त जेनतेन हिँडियो खोलाहरुमा निकै गाह्रो भयो । केही खोलामा यहाँका स्थानीय दाईहरुले बोकेर नै तार्दिनु भयो’ उनले भनिन् ‘पदमार्ग सञ्चालन गर्नुअघि पुल बनाउन प्राथमिकता दिनुपर्छ ।’रघुगंगा गाउँपालिकाको अधिकाश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन पदमार्ग निमार्णको कार्यलाई तिब्रता दिइएको छ । रुइसेडाँडादेखि धौलागिरी आइसफल सम्मको पदमार्ग सञ्चालनका लागि डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पुर्याइएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत अमृत सुवेदीले बताए ।
‘कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौँ,’ उनले भने ‘केही समयअघि सरोकारवालाहरुको टोलीबाट भएको अध्ययन र अनुगमनले पदमार्गको समस्या र सम्भावनाको थप उजागर हुने विश्वास लिएका छौँ ।’
चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्ग यात्रामा सहज भए पनि खोलाहरुमा पुलको समस्या देखिएको छ ।
स्थानीयले पदमार्ग अन्तरगत कोखेभीरमा डोरीको सहायताले पदमार्ग निर्माण गरेका छन् । कोखेभिरँगै पापिधर्मी भीरमा ३ सय मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको गाउँपालिकाका असिस्टेन्ट सब–इञ्जिनियर सुमनबहादुर बुढाथोकीले बताए ।
‘अक्करे भीरमा पहाड खन्ने र जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माणले तिब्रता पाएता पनि बर्खाको समयमा खोलाब बढ्ने भएकाले यहाँ केही स्थानमा झोलुङ्गे पुल निमार्ण गर्नुपर्छ,’ उनले भने ।
‘टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरी आइसफल पदमार्गको प्रारम्भीक अध्ययन गरिएको थियो । पदमार्गको पहिचान भएको दशक पुग्न लाग्दा समेत यस पदमार्गलाई सञ्चालनमा ल्याउन सकिएको छैन ।
पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा लगायतबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भैसकेको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुवकुमार पाईजाले जानकारी दिए ।
धौलागिरी र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तिनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेको छ ।
कालिगण्डकी नदीको किनार हुँदै म्याग्दीको बेनी भएर मुस्ताङ जाने परम्परागत पदमार्ग सडक विस्तारसँगै मासिएपछि म्याग्दी र मुस्ताङलाई पदमार्गबाटै जोड्नका लागि धौलागिरी आइसफललाई बैकल्पिक मार्गको रुपमा पहिचान गरिएको थियो ।यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।