कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली पर्वत आउने भएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उदघाटनका लागि प्रधानमन्त्री ओली पर्वत आउन लागेको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए ।

सवस्टेशनअन्तर्गतको लाइन निर्माणका सबै काम सम्पन्न भएपछि परीक्षण भइरहेको र हाल सम्मका विभिन्न चरणका परीक्षण पनि सफल भएपछि प्रधामन्त्री ओली उद्घाटनका लागि पर्वत आउन लागेका हुन् ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानामा रहेको सव स्टेशनमा विद्यत प्रसारणका लागि पर्वतको तल्लो मोदी १ सय ३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका सम्पन्न भएको कम्पनीका इलेक्ट्रिसियन प्राविधिक प्रदीप शर्माले बताए ।

पर्वतको खुर्कोटदेखि म्याग्दीको दानामा दुई सबस्टेसन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टाँगिएको छ ।

एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झन्डै ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईको जानकारी दिए ।कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो ।

आर्थिक वर्ष २०७१/७२ मा निर्माण सम्झौता भई आव २०७५/७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो । ओलीसंगै उर्जा मन्त्री टोपबहादुर रायमाझी समेत पर्वत आउने प्रजिअ रेग्मीले जानकारी दिए ।

Leave a Reply