जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा पछिल्लो समय भौतिक पूर्वाधार विस्तारका संरचनाहरु थपिँदै जान थालेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माविमा विगत केही समयदेखि यता भौतिक पूर्वाधार विस्तारको कामले गति लिएको हो ।

आर्थिक वर्ष २०७४÷७५ मा बेनी नगरपालिकाबाट विनियोजन भएको ३६ लाख रुपैयाँको बजेटमा ४ कोठे र ०७६÷७७ मा नगरपालिकाबाटै छुट्टिएको १६ लाख रुपैयाँको लागतमा २ कोठे पक्की भवन निर्माणसम्पन्न भएको विद्यालयले जनाएको छ । यसैगरी चालु आर्थिक वर्ष ०७७÷७८ मा ४ कोठे विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीमार्फत ७० लाख रुपैयाँको लागत सहयोगमा निर्माणकार्य अन्तिम चरणमा पु¥याइएको हो । हाल विद्यालयमा निर्माणाधीन भवनसहित पक्की भवनतर्फ १० वटा कोठा र कच्ची अर्थात् पुरानो भवनका १२ वटा कक्षाकोठाहरु उपलब्ध रहेको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कम्प्युटर ल्याबमा २४ वटा कम्प्युटरहरु रहेका छन्भने विद्यार्थीहरुलाई नियमित रुपमा प्रविधिमैत्री शिक्षण सिकाइमा समेत सहभागी बनाउने गरिएको छ ।

त्यस्तै दुईदुई वटा फोटोकपी र प्रिन्टर मेसिन, साइन्स ल्याब तथा पुस्तकालय एवं इ–लाइब्रेरी समेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पुस्तकालय र इ–लाइब्रेरीमा गरी करिब १५ हजार थान पुस्तकहरु रहेको प्रअ पौडेलले बताउनुभयो ।

यसअघि विद्यालयमा भौतिक पूर्वाधारहरु सामान्य अवस्थामा रहेको हुँदा आफ्नो कार्यकालमा १० कोठे पक्की भवन निर्माण, आधारभूत तहमा कक्षाकोठाको भुइँ ढलान, खानेपानीको व्यवस्था, कम्प्युटर शिक्षालगायत कामहरु भएको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो ।

उहाँले कक्षा ११ र १२ सञ्चालन गर्नका लागि जनकल्याण मावि अक्षयकोष स्थापना गरी उक्त कोषमा हालसम्म ४२ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको र विद्यालयका लागि देउसीभैलो खेलेर पनि आर्थिक सङ्कलन गरिएको जानकारी दिनुभयो ।

२०४१ सालमा स्थापना भएको विद्यालयमा अहिले बाल शिक्षादेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आइरहेको छ । कुल २ सय ७२ जना विद्यार्थीहरु रहेको विद्यालयमा १५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । प्रावितर्फ ५ जना, निमाविमा ४ जना, माविमा ३ जना, बालशिक्षा सहयोगी कार्यकर्ता १ जना र ननटिचिङ स्टाफ १ जना रहेको विद्यालयले जानकारी दिएको छ । प्राविमा ४ दरबन्दी, निमाविमा ३ दरबन्दी र १ राहत, माविमा ३ राहत तथा एकजना पुल दरबन्दीको जनशक्ति रहेको छ ।

जनकल्याण माविमा पुलाचौरसहित चिप्लेटी, डडुवा, नयाँगाउँ, गाजने, पुलाडाँडा, पुरुण्डी र नेप्टेचौरबाट समेत विद्यार्थीहरुले अध्ययन गर्दछन् । विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाव संघ, अभिभावक, शिक्षक तथा कर्मचारी सबैको सहकार्यमा अतिरिक्त क्रियाकलापलाई पनि जोड दिइएको प्रअ पौडेलले बताउनुभयो । हालै मात्र गोपाल बानियाँको अध्यक्षतामा विव्यस र तिलकप्रसाद श्रेष्ठको अध्यक्षतामा शिअ संघको नयाँ समितिहरु निर्वाचित गरिएको छ ।

Leave a Reply