आजकल खबरहरुले उत्साह हैन,निराश बनाउन थालेका छन् । बिग्रिएको राजनीति,संसद विघटन र त्यसले निम्त्याएको अस्थिरताका बीच आम नागरिकहरुको सपना खोसिएको छ । कोभिड–१९ को एकवर्ष लामो त्रासदी झेलेका नागरिकहरु राजनीति धमिलिएपछि मन अमिलो बनाउन विवश छन् । राम्राभन्दा नराम्रा कुराहरु सुन्दासुन्दै वाक्क बनेका नागरिकहरुलाई पछिल्लो एउटा समाचारले भने खुुसी बनाएको छ । म्याग्दीमा जन्मेमा निर्मल पुर्जासहितको उएक नेपाली टोलीले हिउँदमासमा संसारको दोस्रो अग्लो के–टु हिमालको सफल आरोहण गरेको छ ।

८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा जाडो याममा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही समूह पनि यही भएको छ । सगरमाथापछि विश्वकै अग्लो ‘केटु’ आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको वायू गतिजस्ता प्रतिकुल अवस्थामा आरोहण दलले प्राप्त गरेको सफलतालाई विश्वले नै नियालेको छ ।

विश्वभरकाम एकसेएक संचारमाध्यमहरुमा अहिले निर्मल पुर्जा र उनको आरोहण दल छाएको छ । यसले नेपालको प्रवद्र्धन गर्न सघाएको छ भने नेपालीको शीर उँचो बनाउने काम गरेको छ । हिमाल आरोहण आफैमा पनि दुरुह हुन्छ । झन केटुलाई त आरोहीहरुले ज्यानमारा हिमालको रुपमा चिन्छन् । त्यस्तो हिमाल हिउँदमा चढ्नु खतरा मोल्नु नै थियो ।

निर्मल, मिग्मा शेर्पा, तेन्जिङ शेर्पासहितका ९ जनाको टोलीले कुशलतापूर्वक त्यो काम फत्ते गरेका छन् । आरोहण भनेको चढेर सकुशल फर्कनु पनि हो । निर्मलको टिमले सकुशल फर्केपछि अर्को किर्तिमान कायम भएको छ । कोभिड–१९ ले थलिएको नेपालको पर्यटन उद्योगलाई यो आरोहणको खबरले उत्साहित बनाएको छ । आरोहीहरुले रोकिएको आरोहणले गति लिने विश्वास गरेका छन् ।

निर्मलले यसअघि नै धेरै रेकर्ड बनाइसकेका छन् ।निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाइसकेका निर्मलको नाममा अर्को किर्तिमान थपिएको छ । म्याग्दीलाई भर्खरै हिमाली जिल्लाको रुपमा लिइएको छ । हिमालको फेदमा बस्ने शेर्पाहरुले मात्रै धानेको आरोहणमा निर्मलजस्ता युवाहरु थपिएपछि यो पेशा वा शोख सबै नेपालीको लागि सम्भव छ भन्ने सन्देश पनि प्रवाह भएको छ । निर्मलले व्यक्तिगत रुपमा बनाएको रेकर्ड आफैमा उपलब्धी हो ।

राज्यले निर्मलजस्ता आरोहीहरुलाई सम्मान गर्न सक्नुपर्छ । यसका अलावा निर्मलहरुजस्ताले नेपाललाई विश्वमाझ चिनाउन पु¥याएको योगदानको पनि कदर हुनैपर्छ । हिमालप्रतिको मान्छेको आकर्षण घटेको छैन । नेपाल हिमाल नै हिमालको देश हो र हिमालबाटै नेपालले यथेष्ट लाभ लिनसक्छ र लिनुपर्छ भन्नेतर्फ पनि राज्यले ध्यान पु¥याउन पर्छ । निर्मल र उनको समूहले अहिले जे उपलब्धी हाँसिल गरेको छ, त्यसले नेपालीहरुलाई खुसी बनाएको छ । नेपालीलाई खुसी दिने निर्मल र उनको टिमलाई हार्दिक बधाई ! Source: dhorpatannews.com

Leave a Reply