हिमाली जिल्ला मुस्ताङलाइ जोड्ने बादरजुँ (काभ्रे) भिरमा यतिबेला भीमकाय चट्टान फोर्न विस्फोटक पदार्थ ब्लाष्टिङको प्रयोग धमाधम भइरहेको छ । बेनी–जोमसोम–कोरोला सडक खण्ड स्तरोन्नति सँगसँगै कालोपत्रेको काम थालनी भएपछि असुरक्षित भौगोलिक बनावट र कडा चट्टानसहितको अजङ्गको भिर तोड्ने कठिन कार्य तीब्र पारिएको छ ।

सडक स्तरवृद्धिको समयावधि समाप्त भएर पुनः समय थप्दा समेत सोचेको जस्तो प्रगति हुन नसकिरहेको अवस्थामा निर्माण कम्पनीहरुले अब भने तीब्र गतिमा काम अघि बढाएका छन् । हाललाई बेनीदेखि जोमसोमसम्मको करिब ७८ किलोमीटर सडक खण्डमा बिभिन्न तीन निर्माण कम्पनीले काम गरिरहेको छ ।

अहिले शर्मा गजरमुखी जेबिले निर्माणको जिम्मा पाएको सडक खण्ड अन्तर्गतको काभ्रे भिरमा बिस्फोटक पदार्थको सहायता लिइ काम गरिरहेको छ । यता सडक स्तरबृद्धि सँगसँगै मुस्ताङको बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको समेत चाप बढ्न थालेको पाइएको छ ।

करिब नौ महिनाभन्दा बढी बन्द हुँदा मुस्ताङका जनताहरुमा एककिसिमको नैराश्यपन छाएको थियो । तर अहिले कठ्याङ्ग्रीदो जाडोमा समेत पर्यटकहरु स्वास्थ्य मापदण्ड अपनाएर मुस्ताङ आउने गरेका छन् ।

आम पर्यटककै हितमा रहेर सडक मर्मत र स्तरबृद्दिको काम भैरहेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । एक बर्षभित्र सक्नेगरी काम भैरहेको समेत उहाँको भनाइ छ ।

प्रत्येक बर्ष बर्खामासमा पहिरो गएर सास्ती दिदै आएकोले पनि सडकको स्तरोन्नति गर्दा यस विषयलाई पनि ध्यान दिइएको ठेकेदार कम्पनीहरुले बताएका छ्न । भूस्वर्गको उपमा पाएको मुस्ताङ सडककै अभावको कारण अधिकांश नेपाली नागरिकको पहुँच बाहिर भएपनि अहिले भने सडकको कारण पहुँच सहज हुँदै गएको छ । source:news24nepal.tv

 

Leave a Reply