म्याग्दीको रघुगंगा गाउँपालिकामा ‘‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत निर्माण गर्न लागिएको अस्पताल गाउँपालिकाको केन्द्रमै बनाउनुपर्ने भन्दै स्थानीयबासीले दबाब दिएका छन् ।

संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगमा जग्गा नापजाँच लगायतका प्रकृया अगाडी बढाएपछि मंगलवार स्थानीय युवा क्लब, आमा समुह, बाबा समुह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आम भेला गरि गाउँपालिकामा दबाबमुलक ध्यानकर्षण गराएका हुन् ।

पालिकाभित्रका बहुसंख्यक नागरिकलाई अपायक पर्ने स्थानमा अस्पताल बनाउन गाउँपालिका अग्रसर भएपछि अधिकाँश वडाका नागरिकलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्रमै अस्पताल बनाउन ध्यानकर्षण पत्र बुझाएको समाजसेवा युवा क्लबका अध्यक्ष बुद्धि केसीले बताउनुभयो ।

वडा सदस्य प्रेमनाथ सुवेदी, स्थानीय अगुवा हरि सुवेदी, मुकुन्द्र शर्मा, क्लब अध्यक्ष केसी, आमा समुहका अध्यक्ष कमला केसी लगायतको प्रतिनिधिमुलक टोलीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीलाई ध्यानकर्षण पत्र बुझाउनुभएको थियो ।

संघिय सरकार मार्फत प्राप्त उक्त अस्पताल बनाउने योजना बेगमा तोकिएर आएको भएपनि बेगमा चालु आर्थिक बर्षमै राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत स्वास्थ्य चौकी पुननिर्माणको योजना कार्यान्वनयमा प्रवेश गरेको र बेगमा निर्माण हुने अस्पतालले गाउँपालिकाको अन्य वडाबासीहरुलाई अपायक पर्ने भन्दै कात्तिक तेस्रो साता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको केन्द्रमा अस्पताल बनाउने निर्णय गरेको थियो ।

तर, बेगका स्थानीयबासीहरुको विरोध र दबाबपछि गाउँपालिका अध्यक्ष भण्डारीले बेगमा उपयुक्त जग्गा व्यवस्थापन गर्न सके सो अस्पताल बेगमै बनाउने भनी आश्वासन दिदै कार्यपालिका बैठकको निर्णयबाट पछि हटेपछि मौवाफाँटका सरोकारवालाहरुले ध्यानकर्षण गराएको जनाएका छन् ।

ध्यानकर्षण पत्रमा अस्पताल निर्माण योजनामा गाउँपालिकाको दोहोरो भुमिकाप्रति गाउँपालिकाको केन्द्र मौवाफाँटबासीको गम्भिर ध्यानकर्षण भएको जनाईएको छ ।

‘‘अस्पताल भनेको भवन मात्रै होईन, अस्पताल सञ्चालन हुनका लागि निश्चित सेवाग्राही चाहिन्छन त्यसको लागि गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने स्थान गाउँपालिकाको केन्द्रमा अस्पताल बनाउनुपर्ने कुरामा हामी गाउँपालिकालाई ध्यानकर्षण गराउँदछौँ । ’’–पत्रमा भनिएको छ ।

गाउँपालिका कार्यपालिका बैठकले बेगमा पुननिर्माण प्राधिकरणले स्वास्थ्य चौकी भवन पुननिर्माणको लागि ठेक्का लगाईसकेको सन्दर्भलाई मध्यनजर गर्दै संघिय सरकारले पठाएको १० शैयाको अस्पताल बनाउने योजना गाउँपालिकाको केन्द्र मौवाफाँटमा बनाउने गरेको सर्वसम्मत निर्णयलाई अबिलम्ब कार्यान्वयन गराउन जोडदार माग गरिएको पत्रमा उल्लेख छ ।

गाउँपालिकाका अन्य ७ वटै वडालाई अपायक पर्ने गरि अस्पताल निर्माण गर्ने तयारीमा गाउँपालिका जुटेको विभिन्न सञ्चार माध्ययम र सामाजिक सञ्जालहरु मार्फत समाचारहरु आइरहेकाले कार्यपालिका बैठकले गरेको निर्णय विरुद्ध मनोमानी र एकलौटी ढंगले गाउँपालिकाको नेतृत्व अगाडी बढ्ने कार्यप्रति विरोध जनाउँदै गाउँपालिकाको केन्द्रमा नै अस्पताल बनाउन माग गरिएको छ ।

 

 

Leave a Reply