गएरातीको बर्षासँगै लेदो र ढुङ्गासहितको बाढीले नाली भरिएपछि फुटेर बेनीबजारको क्याम्पस र अस्पताल चोकमा असर गरेको छ । बेनी–पाखापानी सडकको अर्थुङ्गेस्थित आँपारुख खण्डबाट झरेको बाढीले सहज निकास पाउन नसकेपछि क्याम्पसचोक वरपरका करिब एकदर्जन घर आसपासमा लोदो थुप्रिएको छ ।

ग्रामीण कृषि सडक विस्तार, स्तरोउन्नतीमा उचित ध्यान नदिने, बजारभित्रको नाली फराकिलो बनाउनुपर्ने पटकपटकको माग सुनुवाई नहुदाँ बाढीको जोखिममा रात विताउनुपरेको स्थानीयले बताएका छन् ।

सडकमा थुपारिएको लेदो र ढुङ्गाले नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि केही घरहरूमा पसेको छ । ‘पन्ध्र मिनेटको बाढीले वितण्डा मच्चाएको छ,‘दिर्घकालिन समस्या समाधानको पहल हुनुपर्छ’ स्थानीय ताराप्रसाद श्रेष्ठले भन्नुभयो । माथिल्लो क्षेत्रमा भइरहेको विकास निर्माणको क्रममा जथाभावी ढुङ्गामाटो फाल्दा क्याम्पसचोक आसपासका क्षेत्रमा क्षती पुग्ने गरेको बताउँदै वडास्तरबाट तयार गरिएको योजना अन्तरगत ढललाई ब्यवस्थित बनाउन आवश्यक संरचनामा फेरबदल गर्नुपर्ने बताउनुभयो ।केहीबर्ष रोकिएको बाढीको समस्याले पुनः सताउन थालेपछि क्याम्पसचोकबासी त्रसित भएका छन् ।क्याम्पसचोकमा सहज निकासका लागि एउटा घर स्थानीय, वडा कार्यालयको बजेटबाट खरिद गरी सहज निकासको पहल गरिएपनि योजना अनुसार काम नहुदाँ समस्या भएको छ । क्याम्पसचोकमा यसअघि २०६३, २०६९, २०७२ र २०७३ सालमा बाढी आएको थियो । यस्तै बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्कमा समेत लेदो थुप्रिएको छ ।अस्पताल चोकबाट ज्यामुनाखर्क जोड्न कच्ची सडकको विस्तारसँगै बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट ढुङ्गामाटोको लेदोले अस्पताल चोकमा असर गरेको स्थानीयको भनाई छ ।

लेदो र ढुङ्गासहितको बाढीले बसपार्कमा पार्किङ गरिएका सवारीसाधनमा समान्य असर गरेको छ । त्यस्तै भेलबाढीका कारण मङ्गलाघाट क्षेत्र समेत असुरक्षित बन्दै आएको छ ।

बेनी–पाखापानी सडक निर्माणमा उचित ध्यान दिन नसक्दा वर्षेनी बाढीले बेनीबजार नै जोखिममा परेको भन्दै उचित ब्यवस्थापनका लागि माग समेत गरेका छन् ।

बाढीको जोखिमको अवस्थामा थप कच्ची सडक विस्तार भइरहेको भन्दै अस्पतालचोक आसपासका बासिन्दाले ज्यामनाखर्क जाने सडक आसपासको जोखिम संरचनाको सरोकारवाला निकायले स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिएका छ ।

Leave a Reply