जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भएको आम्दानी तथा खर्चको हिसाब सार्वजनिक गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) म्याग्दीमार्फत कोरोनाको रोकथाम र नियन्त्रणमा भएको हिसाब सार्वजनिक गरिएको हो ।

सोमबार जिल्लामा क्रियाशील पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले कोरोना नियन्त्रणमा गत आर्थिक वर्षमा भएको आम्दानी र खर्चको विवरणबारे जानकारी गराए ।

उनका अनुसार कोरोना नियन्त्रण गर्न भन्दै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई दुई चरणमा गरी कुल २० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।

उक्त बजेटमध्ये सञ्चारमा एकलाख, इन्धन तथा कार्यालय प्रयोजन सातलाख, सवारीसाधन मर्मत तीनलाख ५० हजार, कार्यालय सञ्चालन एकलाख, अनुगमन तथा मूल्याङ्कन छ लाख र विविध खर्च एकलाख ५० हजार रुपैयाँ रहेको सहायक प्रजिअ सुवेदीले जाकारी दिएका छन् ।

सो बजेट जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयमा विनियोजन गरी कोरोना नियन्त्रण तथा रोकथामका लागि खर्च गरिएको उनले बताए ।

यसैगरी जिल्ला विपद् व्यवस्थापन कोषमा कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीबाट दुईलाख ५७ हजार आठसय ३३ र सौरभ शर्माबाट १५ हजार रुपैयाँ सहयोग आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै कोरोनाको संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामग्रीहरु मास्क, स्यानीटाइजर, पिपिईलगायत नगद समेत जिल्लास्थित विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।

कोभिड–१९ नियन्त्रण, रोकथाम र प्रतिकार्यका लागि सुरक्षासँग सम्बन्धित कार्य जिल्ला प्रशासन, क्वारेन्टाइन निर्माण स्थानीय तह, आईसोलेसन व्यवस्थापन जिल्ला अस्पताल, किट व्यवस्थापन तथा स्वाब सङ्कलन स्वास्थ्य कार्यालय र समग्रमा समन्वयकारी भूमिका सिसिएमसीले गर्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

Leave a Reply