घर नजिकैबाट हराएका श्रीमान फर्किने आसमा धवलागिरी गाउँपालिका-७, ताकमकी पवी गर्बुजाको बाटो हेरेको १७ वर्ष बित्यो। तर कुनै अत्तोपत्तो छैन।
श्रीमानले रेशम गर्बुजाले खरले छाएको सानो झुपडी जिर्ण भएको छ। साविकको ताकम गाविस-५ देउबुजा जंगलको छेउमा अवस्थित एक्लो घरको पाली, भित्ता चर्किएको र खरको छाना चुहिएर बस्न नमिल्ने भएपछि जेठाजु फतबहादुरको घरमा बस्दै आएकी गर्बुजालाई घर खर्च चलाउन समेत हम्मेहम्मे परेको छ ।
मजदुरी गरेर जीविका चलाउँदै आएको अवस्थामा २०६० साल चैत्र ५ गते हराएका श्रीमान फर्केर आउँछन् की भनेर बाटो हेर्दै दिन विताउने गरेकी गर्बुजाले घरखर्च, दुई छोराछोरीको लालनपालन र पढाई खर्च धान्न धौ–धौ भएको छ।
तत्कालिन समयमा माओवादीले बेनी आक्रमण गर्नु अगाडी हराएका श्रीमानको न सासको ठेगान छ न त लाशको । बेपत्ता श्रीमान् पाउने आसैआसमा करिब एकदशक श्रीमानको खोजीमा धेरै ठाउँमा पुगेकी गर्बुजाले जिउँदो मर्दाे खबर नपाउँदा अझै पनि तड्पीरहेकी छन्।
जेठो छोराले विवाह गरेर पोखरा बस्न थालेपछि घरमा दुई छोराछोरीसँगै बस्दै आएपनि पूरानो घर मर्मत गर्न आर्थिक नभएपछि करिब विस्थापित जस्तै जिवन विताइरहेकी गर्बुजाले घरखर्च चलाउन पनि आफन्तको सहयोग माग्नुपर्ने अवस्था रहेको बताईन् ।
‘पुरानो घर मर्मत गरी छोराछोरीलाई पढाई खर्च मात्रै भएपनि धेरै राहत हुन्थ्यो,‘जेठाजुले घरमा बस्न दिनुभएकाले केही सहज भएको छ’ उनले भनिन्।
बेपत्ता श्रीमानलाई तत्कालिन समयमा माओवादीले बेनी आक्रमणमा प्रयोग गरेको भन्ने धेरै भएपनि स्थानीय नेताहरूले अस्वीकार गरेकाले पनि श्रीमान अझै घर फर्किने आश पलाएको उनको भनाई छ।
लामो समयसम्म श्रीमान हराएपनि छोराछोरीको मायाँले दोश्रो विवाह गर्ने कुरा त सोच्दा पनि नसोचेको गर्बुजाको भनाई छ ।
बेपत्ता रेशमको छोराछोरीलाई आवश्यक पर्ने लत्ताकपडा, बस्ने एउटा घर, विहानबेलुकी हातमुख जोड्न केही सहयोग भएपनि धेरै सहज हुने ताकमका स्थानीय देवीप्रसाद सुबेदीले बताए।‘श्रीमान बेपत्ता भएपनि मेलापात गरेर छोराछोरीलाई हुर्काइन्,‘गरिबील उनको जीवन अहिले अन्धकार जस्तै भएको छ’सुबेदीले भने ।
बेपत्ता भएका रेशमको खोजीमा धेरै प्रयास गरिएपनि पत्ता नलागेपछि स्थगित गरिएको थियो । ताकमका स्थानीयले द्वन्द्वकालमा हराएकाले राज्यबाट राहतका साथै छोराछोरीको पालनपोषण, बेपत्ताकी श्रीमतिलाई एकल महिलाको रुपमा सम्मान तथा ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न समेत अपिल गरेका छन्।