अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका विस्थापितलाई एकल महिला केन्द्रिय कार्यालयले करिब २० लाख बराबरको लत्ताकपडा, स्वास्थ्य लगायतका साम्रागी सहयोग गरेको छ ।

एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको पहलमा एकल महिला समुह केन्द्रिय संस्थापक अध्यक्ष लिली थापाले विभिन्न निकायबाट १ हजार ब्लाङ्केट, ५० थान सलका साथै बालबालिकालाई आवश्यक पर्ने लत्ताकपडा र विभिन्न स्वास्थ्य साम्रागी एकल महिला म्याग्दीकी संस्थापक अध्यक्ष बिमला गौचन, अध्यक्ष देवी केसीमार्फत गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, योजना शाखा प्रमुख कृष्णप्रसाद सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका भित्रका पहिरो प्रभावित बालबालिका, गर्भवती र सुत्केरी महिलालाई आवश्यक सहयोग उपलब्ध गराउन समेत थप पहल भइरहेको एकल महिला म्याग्दीकी संस्थापक अध्यक्ष गौचनले बताउनुभयो ।‘हामीले जिल्लाभरका बाढीपहिरो प्रभावितलाई राहत जुटाउने पहल गरिरहेका छौ,‘विस्थापित एकल महिलाको तथ्याङ्क समेत संकलन भइरहेको छ’ गौचनले भन्नुभयो ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष छन्त्यालले साम्रागीलाई विभिन्न माध्यमबाट ढुवानी गरिने बताउनुभयो । पहिरोले धवलागिरी–६ मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन् ।

वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जिवन विताइरहेका छन् भने गाउँपालिकाभित्रका अन्य वडामा समेत जोखिम रहेको छ।

Leave a Reply