करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्धारकी कृशिखा विकको उपचार र शिक्षादिक्षाका लागि साउदी अरबमा रहेका एक म्याग्देलीको पहलमा आर्थिक सहयोग जुटेको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–४ दर्मिजा घर भई हाल पिलचोक बस्ने पवन सेन्चुरीको अगुवाईमा साउदी अरबको जेद्दाह स्थित अलमराई र अबुदाउद कम्पनीमा रहेका नेपालीले १ लाख ३५ हजार ४१६ रुपैयाँ सङ्कलन गरी पवनकी धर्मपत्नी हेमा सेन्चुरीमार्फत कृशिखाकी आमा शुसिलालाई हस्तान्तरण गरिएको छ ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफरबाट करेन्ट प्रवाह भई गम्भीर घाईते अवस्थामा किर्तीपुर हस्पिटलमा उपचार गरी डिस्चार्ड भएकी कृशिकाको शिक्षादिक्षा सहित घरायसी खर्चमा प्रयोग गर्ने गरी उक्त सहयोग संकलन गरेको अभियानका संयोजक पवन सेन्चुरीले बताउनुभयो।

‘कम्पनीमा कार्यरत नेपालीले मन खुलेर सहयोग गर्नुभयो,‘सहयोगले नानुको शिक्षादिक्षामा केही सहज हुने अपेक्षा गरेको छु’ सेन्चुरीले भन्नुभयो । सहयोग हस्तान्तरणको क्रममा तालमायाँ जेठिपारले २ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

विपन्न परिवारकी कृशिकाको उपचारमा आर्थिक समस्या भएको अवस्थामा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले राहत मिलेको बताउनुभयो । कृशिखाकी आमा शुसिलाले एउटा विपन्न परिवारमा जन्मिएर पनि छोरीको उपचारमा प्राप्त सहयोगले आत्मबल उच्च भएको बताउनुभयो । उहाँले छोरीलाई पढ्ने विद्यालयको खोजीमा रहेको बताउनुभयो ।

Leave a Reply