मुस्ताङबाट बिरामी लिन आएको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठेबोटमा दुर्घटना भएको छ । सुत्केरीलाई लिन आएको लेते स्वास्थ्य चौकीको ग १ झ ३०११ नम्बरको एम्बुलेन्स कालिगण्डकी नदीमा खस्दा चालक सुजन विक बेपत्ता भएको छन् । एम्बुलेन्स सडकबाट कालिगण्डकीमा खसेको अवस्थामा भेटिएपनि मुस्ताङ थासाङ गाउँपालिका–४ का चालक विकको अवस्था अज्ञात रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।‘चालकको अवस्था अज्ञात छ, घटनास्थलमा खोजीकार्य भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो । प्रहरीको सुरक्षा पोष्टमा दर्ता भएको चालकको विवरणमा समेत सुत्केरी ल्याउन जाने खुलेको छ । घटनास्थलमा प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायत स्थानीयले चालकको खोजीकार्य गरिरहेका छन् । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । बिरामी लिन बेनीतर्फ आइरहेको एम्बुलेन्समा चालक बाहेक कोही नभएको बुझिएको छ ।

Leave a Reply