म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा शनिबार भिषण असिनापानीले अन्नबालीमा क्षति पुर्याएको छ । पाक्न लागेको र पाकिसकेको अन्नबाली खेतबारीमै सखाप पारेको स्थानीय कोमल थापाले बताउनुभयो। ‘हरेकबर्ष हाम्रो मेहनतमा अनिसापानी खनिने गरेको छ,‘यसबर्ष पनि ठूलो क्षती पुर्याएको छ’ थापाले बेनीअनलाइनलाई भन्नुभयो । असिना पर्दा खेतबारी सेताम्य भएको छ ।उहाँका अनुसार मकै, आलु लगायत स्थानीयस्तरमा उत्पादन हुने सबै अन्नबाली असिनापानीले क्षती पुगेकाले स्थानीय सरकारमार्फत राहतको ब्यवस्था गर्नुपर्ने अवस्था आएको छ । बरंजाको बिस्मोर, लुहुचा, काकलाक, रोहते, खानीगाउँ लगायतका बस्तीहरुमा असिनापानीले क्षती पुगेको सञ्चारकर्मी दर्पण रोका मगरले बताउनुभयो ।
लकडाउनको समयमा दैनिकजसो अनिसापानीले असर गर्न थालेपछि जिल्लाका ग्रामिण क्षेत्रमा यसबर्ष खाद्यान्नको अभाव हुने जोखिमलाई मध्यनजर गरी आवश्यक राहत वितरण गर्नुपर्ने किसानले माग गरेका छन् । जिल्लाका सबैजसो स्थानीय तहमा असिनापानीले अन्नबालीमा क्षती पुगेको छ। असिनाले सबै अन्नबाली सखाप पारेको अन्नबाली सँगै लाखौं रुपैयाँका तरकारीमा पनि क्षति पुर्याएको छ ।