धर्म प्रतिको आस्था र आशक्ति छुट्टाछुट्टै कुरा हुन् र धर्म प्रतिको अधिक आशक्तिले नै हो । धार्मिक युद्ध निम्ताउने, कोरोना र धर्म एकआपसमा सम्बन्धित बनाउनु सरासर मूर्खता हो । सिधा अर्थमा भन्दा कोरोना भगाउन पूजा लगाउन खोज्नु कहाँ सम्मको मूर्खयाँइ हो आफै बुझ्नुस्। धर्म हिजो पनि थियोे र भोलि पनि रहनेछ।

पहिलोपटक रजस्वला भएकी छोरीलाई तैंले दाजुभाइ देखिस् भने पिर्छ भन्दै लुक्न पठाउँदा, कहाँ जान्छ तपाईंको धर्म? किन भन्दैन त्यो धर्मले कि छोरीलाई घरमै राखेर भैँसीको तातो दूध खान दे, यो समयमा उसलाई तेरो आवश्यकता छ।

मूल ढोकाको सँघारको छेउमा बसेर अलिकति समानता मागेको दलितलाई किन भन्दैन तपाईंको धर्मले कि आइज हामी एउटै हौँ समानता कायम गरौँ??आफ्नै हातले बनाएको मन्दिरमा तपाईंले पूजा लगाउँदा किन उसलाई भित्र पस्न दिँदैन तपाईंको धर्मले??गाउँमै बोक्सीको आरोप चल्दा किन भन्दैन यो धर्मले कि यो अन्याय हो ?यस्ता प्रश्न मसँग हजार छन्। हुन त म धर्म बिरोधी होइन,म कुशको पबित्रा लगाएर पूजा गर्न हिचकिचाउन्न तर जे गर्न गैराखिएको छ,घोर बिरोध गर्दछु।

चाहे तपाईं मलाई असामाजिकको पगरी किन नगुटाइदिनुस्?धर्म प्रति त्यति आशक्ति नै छ भने घरमै पूजा गर्नुस् ,ईश्वर भए अवश्य सुन्लान् ।धार्मिक आशत्तीले कोरोना जाने भए भारतमा किन गएन?किन डाक्ट ,नर्स ,अस्पताल चाहियो?युरोपमा क्राइस्टले किन बचाएनन् ?उनीहरुको गल्तीबाट सिक्ने बेलामा आफै गल्ती गर्ने?ईश्वर सबैका एउटै हुन् भन्छौँ, यदि हो भने मुस्लिमको प्राथनाले हिन्दूलाई पनि पुग्नुपर्ने होइन ?कि जीसस् र अल्लाहले तँ हिन्दू होस् ,तँलाई बचाउन्न भन्छन् ?

कृपया यो नबिर्सनु होला कि हामी हिन्दु भन्दा पहिले मानव हौँ।मानवताको रक्षा गरौँ। मानवताको सवालमा त तपाईंलाई कहिल्यै पूजा लगाउने मन आएन! त्यो गरिबको छोरी बलात्कृत हुँदा तपाईंको मानवताले गएर सान्त्वना दियो ?फेरि किन धर्मको हतियार लिएर हिड्न खोज्नुहुन्छ??

यदि समाजसेवाको दृष्टिले हो भने, त्यो पूजा लगाउने पैसाले राहत किनौँ र गरीबहरु भोकभोकै भएछन् भने बाँडफाँड गरिदिउँला।किन धर्मको नाममा ढोङ्ग फैलाउने ??राज्यले लज्जास्पद नै सही अलिकति गरिरहेको छ। हामीले बुझेर पनि बुझ पचायौँ भने ती डाक्टर र नर्सको आत्माले श्राप दिँदैन ?(धर्मकै दृष्टिकोणले हेर्ने हो भने) अहिले शङ्ख,घण्ट बजाउँदै गर्दा काठमाडौंबाट आएका धेरै छन् ।

हुन सक्छ कोही सङ्क्रमित हो ,कोही त होलान् जो उनीहरुसँग नजिकिएका हुन्, पूजामा आउँदा त्यहीँ सरोस्?(सत्य नहुन सक्छ फेरि पूजाले कोरोना भगाउनु पनि त असत्य हो )

शङ्खको आफ्नै महत्त्व छ तर अर्थ यो नहोला कि जतिबेलै फुकौँ? बेद र पुराणको महत्त्व छ,आफ्नै अर्थ राख्ला।हुन त बेद र पुराण बुझ्ने कोसिस गरेका हामी भए पो?रट्टा मार भाइ रट्टा भन्ने हामीलाई अर्थ थाहा भएको भए समाज अर्कै बन्दो हो । जे सुकै होस् कोरोना भगाउने नाममा धर्म बिचमा नहालौँ,लकडाउनको पालना गरौँ र सभ्य नागरिकको परिचय दिऊँ । ३ यति भन्दा पनि भएन भने यसो गरौँ, तीन करोड नेपालीलाई निम्ता दिऊँ र पशुपतिमा रुद्री लगाऊँ नरहे बाँस नबजे बाँसुरी।

आरती आचार्य
धौवलागिरी गाउँपालिका–७ म्याग्दी

Leave a Reply