गण्डकी प्रदेशभित्रको नवलपूर बाहेक अन्य ९ जिल्लाबाट म्याग्दीमा प्रवेश गर्नेले अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । प्रदेशभित्र रहेका ११ जिल्ला मध्ये बर्दघाट–सुस्तासँग जोडिएको नवलपूरबाट जिल्लामा भित्रिने सर्वसाधारणले भने अनिवार्य स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन विताउनुपर्ने कोरोना भाइरस रोग (कोभिड १९) कमाण्ड पोष्टले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा सोमबार बसेको कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा समन्वय सम्बन्धि बैठकले । नवलपूर जिल्लामा भारतबाट समेत सहजै प्रवेश गर्ने भएकाले त्यहाँबाट आउने यात्रुमा कोरोनाको जोखिमलाई मध्यनजर गरी स्थानीय तहकै जिम्मामा क्वारेन्टाइनमा राखेर नियमित चेकजाँच गर्ने निर्णय भएको कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णयको अनुगमन गर्न सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई समेत अनुरोध गरिएको छ। बाहिरी जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णयसँगै जिल्लाका सबै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा २ सय १९ जना रहेको जनाइएको छ । क्वारेन्टाइनमा रहेका गण्डकी प्रदेश बाहिरका जिल्लाबाट आएका सर्वसाधारण हुन् ।

बैठकले जिल्लामै विभिन्न संस्थाको सहयोगमा निर्मित स्यानिटाइजर टनेलले शरीर पूरै स्यानिटाइजेसन गर्ने, क्वारेन्टाइनका बसेकाको नियमित अपडेट लिने लगायतका निर्णय गरेको छ । त्यस्तै लकडाउन थपिएको बाँकी अवधिभर कोरोना भाइरस नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्ने निर्णय समेत गरेको छ । गण्डकी प्रदेशमा दुईजना कोरोना संक्रमित निको भइसकेको अवस्थामा हालसम्म प्रदेश जोखिममुक्त रहेपनि सतर्कता आवश्यकता रहेको कोभिड १९–म्याग्दी कमाण्ड पोष्टले जनाएको छ ।

Leave a Reply