उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरी हाइड्रो पावर लिमिटेडका मजदुर मदन दमाई पाँच दिनदेखि भोकभोकै कष्ठपूर्ण पैदलयात्रा छन्।  लकडाउनका कारण आफू कार्यरत आयोजनाको काम ठप्प भएपछि भुरुङ तातोपानी, चिमखोला, पाखापानी- झिँ हुदै मंगलबार साँझ बेनी नगरपालिका–६ गुफा गाउँमा आइपुगेका दमाईले एकदिन जंगलमै रात विताए।

उमेरले ५० बर्ष नजिक पुगेका दमाईको साथमा दाङ जिल्लाकै सन्तोष नेपाली, दोर्जे गुरुङ, मिलन तामाङ दाबा बहादुर खत्री छन्। बेनी–जोमसोम सडकखण्डबाट आउँदा समस्या पर्ने भन्दै जंगलतिर लागेका मजदुरले दिनमा करिब १२ घण्टासम्म पैदल हिड्दा खुट्टा फुटेको दमाईले बताए ।

‘बुढो शरीर हिड्न मुस्किल भयो,‘केहीले गोठमा बस्न दिनुभयो,‘गाउँलेको मायाँले केही राहत महसुस गरियो’ उनले भने । खुट्टा दुखेपछि एउटा दह्रो लौरो समाएर विस्तारै हिँडेका दमाईले चिमखोला–पाखापानी क्षेत्रका गाउँलेको गोठमा बसेर रात विताएको बताए। गाउँमा नयाँ मान्छे भेटेपनि पिडा सुनाउँदा गोठमा बस्न दिएको अर्का मजदुर सन्तोष नेपालीले बताए।

लकडाउन खुल्ने आशामा बसेपनि घरपरिवारको सम्झनाले सताएपछि म्याग्दीको ग्रामिण बस्ती हुदै बागलुङ लगायतका जिल्ला हुदै दाङसम्म पुग्ने गरी पदैल हिडेको उनको भनाई छ।

खर्च र खानेकुरा नभएपनि बाटोमा माग्दै गाउँतिर हिँडेका मजदुरलाई बेनी नगरपालिका–६ गुफाका यूवा भरत खत्रीले एकरात बस्न र खानाको ब्यवस्था मिलाएका छन् । अर्थुङे सामुदायिक यूवा क्लवका अध्यक्ष नारायण पौडेलले गाउँमा मजदुर आएको जानकारी पाएलगत्तै पुगेर रातको समयमा उचित ब्यवस्था मिलाइएको बताए। ‘दाङ जिल्लका हुनुहुन्छ,‘हिडेर यो बाटो जान खोजपछि रोकेका छौ’ पौडेलले भने । उल्टो बाटो हिड्न थालेका मजदुरलाई बुधबार सदरमुकाम बेनीमा पठाउने बताए।

लकडाउनले काम बन्द भएका कारण आफूहरूको रोजीरोटी खोसिएकाले खानपान र घर फर्कने व्यवस्था मिलाइदिन समेत मजदुरले अनुरोध गरेको अध्यक्ष पौडेलको भनाई छ । उनीहरुको समस्यालाई समाधान गर्न सम्बन्धित निकायलाई जानकारी गराउने बताए ।

गुफा क्षेत्रबाट लकडाउनको अवधीमै दाङ जिल्ला हिडेका ११ जना मजदुर, एक चिनियाँ पर्यटकको उद्धार गरिएको थियो । केहीदिन अगाडी समेत सोही क्षेत्र हुदै एक समुह रोल्पा गएको थियो । भोकभोकै बस्न बाध्य र राहत पाउन नसकेका श्रमिकलाई खानपानको समस्या भएको थाहा पाउनासाथ तत्काल उद्धार गर्ने जिल्ला प्रशासन कार्यालयले पटकपटक सार्वजनिक सूचना समेत जारी गरेको छ ।

Leave a Reply