निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले कोरोना भाइरसको किटाणु नष्ट गर्ने किटनाशक औषधी क्लोरिन छर्किने कामलाई निरन्तरता दिएका छन् ।यसैक्रममा बुधबार बेनी नगरपालिका–६, नम्बर वडाको अर्थुङ्गे क्षेत्र, नेपाली सेनाको अर्थुङ्गेमा रहेको व्यारेक, गलेश्वर बजार र बेनी अस्पताल परिसरमा क्लोरिन छर्किएका हुन् ।

अध्यक्ष जिसीले यसअघि सदरमुकाम बेनीबजार, रत्नेचौर, तातोपानी, बाबियाचौर, र दरबाङ बजारसहित सडक तथा गल्लीमा क्लोरिन छर्किएका थिए ।

युवा व्यवसायी समेत रहेका अध्यक्ष जिसीले आफ्नो बि.एन. कन्टक्सन प्रालिको ट्याङ्कर, उपकरण तथा मजदुरहरु प्रयोग गरेर क्लोरिन छर्किएको जानकारी दिएका छन् । बजार तथा सडकमा क्लोरिन छर्किनका लागि आफूसहित ५ जनाको जनशक्ति परिचालन भएको उनले बताए ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको अवस्थामा किटनाशक औषधी क्लोरिन छर्किएको निर्माण व्यवसायी जिसीको भनाइ छ ।

उनले जिल्ला प्रहरी कार्यालयमा रहेको क्लोरिन पाउडरलाई पानीमा मिसाएर छर्किएका हुन् । जिसीले गरेको सामाजिक कामप्रति स्थानीयवासीले प्रशंसा गर्नुका साथै बजार र सडक तथा गल्लीमा छर्किएको क्लोरिनका कारण उनीहरुले सुरक्षित भएको महशुस गरेका छन् ।

आउँदा दिनमा पर्वतको जलजला गाउँपालिकाको बेनीसहित अन्य क्षेत्रमा पनि क्लोरिन छर्किने अध्यक्ष जिसीले बताए । यसैबीच अध्यक्ष जिसीले आफ्नो काठमाडौं र म्याग्दीको बेनीमा रहेको घरको चैत महिनाको घरभाडा मिनाहा गरेको घोषणा गरेका छन् ।

जिसी र उनकी धर्मपत्नी बिमला जिसीले सरकारले गरेको अनुरोधलाई स्वागत गर्दै चैत महिनाको कुल एकलाख ३५ रुपैयाँ भाडा मिनाहा गरेको बताएका हुन् । सरकारले गएको आइतबार घरधनीहरुलाई घरभाडामा बस्नेहरुबाट चैत महिनाको भाडा नलिन अनुरोध गरेको थियो ।

Leave a Reply