विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारमा दमकलबाट कोरोना भाइरस मार्ने कीटाणुनाशक पदार्थ क्लोरिन पाउडर छर्कने भएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भाइरस मार्ने गरी शनिबार विहान ७ बजे बेनीबजार सुरु गरिने बताउनुभयो। ‘छर्कने बेलामा आसपासमा नबस्नुहोला,‘ निषेधाज्ञाको पूर्णपालन गर्नुहोला’ प्रजिअ ढकालले भन्नुभयो ।

जिल्लामा उपलब्ध सम्पूर्ण स्रोतको प्रयोग गरी किटाणुको नष्ट गर्ने अभियान अन्तरगत करिब ५० केजी उपलब्ध रहेको बताए । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहयोगमा दमकल र पानीको प्रयोग गरी बेनीबजारका साथै पश्चिम म्याग्दीको दरबाङ र उत्तरी म्याग्दीको पोखरेबगरसम्म छर्कने योजना बनाइएको छ ।

पाउडरको ०.२ प्रतिशतले ब्याक्टेरिया र ०.५ प्रतिशतले भाइरसकै नष्ट हुने भएकाले सार्वजनिकस्थलमा भाइरसको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी छर्कन लागिएको हो ।

क्लोरिनले कोरोनाका किटाणुबाट बच्न सहयोग गर्दछ । यसैबीच जिल्ला सुरक्षा समितिले ग्रामिण क्षेत्रमा निषेधाज्ञाको कार्यान्वनका लागी गस्ती सहित निगरानी बढाउने योजना बनाएको छ । विश्वका विभिन्न देशमा सार्वजनिकस्थलबाटै भाइरसको संक्रमण बढ्न थालेपछि किटनाशक घोल र पाउडरको प्रयोग गर्ने गरिएको छ ।

Leave a Reply