म्याग्दीका स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य संस्थामार्फत अभियान सुरू गरेका छन् । कोरोना भाइरसको महामारीसँग जुध्न स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गदैं समुदायमा जनचेतनामुलक कार्यक्रमहरूमार्फत समुदायमा सचेतनामुलक कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

वडास्तरमा सरसफाई, भीडभाडमा नजान तथा अनिवार्य साबुन पानीले हात धुने र मास्क लगाउन हरेक वडामा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मीमार्फत समुदायमा सचेतनामुलक कार्यक्रमहरु गरेका छन् ।

बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीमार्फत न्यूनतम सर्तकता अपनाउने गरी कार्यक्रम गरिरहेका छन् । ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिने अवस्थाका बारेमा जानकारी दिने कार्यलाई प्राथमिकता दिएको जनाएका छन्। बेनी नगरपालिकाले जिल्ला प्रशासन, तातोपानी कुण्डसँग समन्वय गरी तातोपानी कुण्डमा स्नानमा अनिश्चितकालिन रोक लगाएको छ । त्यस्तै नगरपालिकाभित्र हुने सार्वजनिक कार्यहरुमा रोक, वडास्तरमा जनचेतनामुलक कार्यक्रमका लागी स्वास्थ्यकर्मीमार्फत अगाडी बढेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

त्यस्तै मंगला गाउँपालिकाले नियमित रुपमा साबुन पानीले हात धोइरहने, भीडभाडम जान रोक तथा वडास्तरमा आवश्यकता अनुसारका कार्यक्रमहरु गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । उनका अनुसार कोरोना भाइरसका संक्रमणका लक्षणभित्र पर्ने कुनै पनि समस्या देखिएमा गाउँपालिकाको खर्चमा थप उपचारका लागि बेनी अस्पतालमा पठाउने बताए ।

सोमबारदेखि गाउँपालिका भित्र माइकिङ गरी जनचेतनामुलक कार्यक्रम गर्ने तयारी भइरहेको छ। मालिका गाउँपालिकाले ७ वटै वडामा सरसफाई तथा संक्रमणको जोखिमलाई मध्यनजर गरी अभियान सञ्चालन गर्ने जनाएको छ ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जनचेतनामुलक कार्यक्रममा जोड दिएको बताए । उनले संक्रमणबाट जोगिन स्वास्थ्यचौकीमा आउने बिरामीलाई निगरानी गर्न समेत निर्देशन दिएको बताए । धवलागिरी गाउँपालिकाले तत्काल सचेतनामुलक कार्यक्रमलाई नै प्राथमिकता दिएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले सरकारले तोकेका मापदण्ड अनुसार गाउँपालिकाले योजना बनाएर काम गर्ने बताईन् । उनले भिडभाड हुने क्षेत्रहरुका साथै विदेशी पर्यटकलाई अर्को सूचना जारी नगर्दासम्म रोक लगाउने बताईन् ।

गूर्जा र मुदीको बगरको तातोपानीमा समेत स्नान गर्न कडाई गरिएको छ । उता रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले विपद् ब्यवस्थापनसँगै समुदायलाई अनावश्यकत त्रसित नहुन अनुरोध गदैं गाउँपालिकाले संक्रमण बिरुद्ध आवश्यक सबै योजनाहरुलाई कार्यान्वयन गर्ने बताए । उनले दर्जिमाको तातोपानी कुण्डमा स्नान गर्न रोक लगाउने बताए ।

अन्नपूर्ण गाउँपालिकाले विदेशी पर्यटकको आगमनलाई कडाई गरेको छ । गाउँपालिका अध्यक्ष डम बहादुर पुनले भुरुङ तातोपानी र नारच्याङको कुण्ड बन्द गरिएको बताए । त्यस्तै छिमेकी मुस्ताङ आवतजावत गर्नेहरुसँग, बिदेशी नागरिकलाई समेत निगरानी गर्ने गाउँपालिकाले जनाएको छ।

Leave a Reply