कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्नपूर्ण गाउँपालिकाले सर्वोदय मावि भुरुङ तातोपानीको कक्षा कोठालाई आवश्यकता अनुसार क्वारेन्टाईन बनाउने भएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी संकास्पद विरामीलाई उपचारका लागि आवश्यक संरचना बनाउने आइतबार गाउँपालिका अध्यक्ष डम बहादुर पुन, प्रशासकीय अधिकृत नविन सुबेदीले विब्यस अध्यक्ष बुद्धि पुन, शि.अ संघका अध्यक्ष लोक बहादुर पूर्जा र प्रधानाध्यापक किसन बहादुर पुनसँग सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । विद्यालयको कोठामा आवश्यकता अनुसार प्रयोग गर्न सकिने सहमति भएको छ ।

बाहिरी जिल्लाबाट धेरै आवतजावत गर्ने भएकाले पनि अन्नपूर्णमा उच्च सर्तकता अपनाइएको प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो । छिमेकी जिल्ला कास्की र मुस्ताङसँग समेत समन्वय गरी आवश्यक सतर्कता अपनाउने गाउँपालिकाले जनाएको छ । यसैबीच कोरोना भाइरसको संक्रमणबाट बच्न कुनैपनि सभा, सम्मेलन, बैठक, आमभेला, सेमिनार, समारोह, तालिम तथा अन्य साना तथा ठुला जमघटमा सहभागी नहुन समेत अपिल गरेको छ ।

त्यस्तै पर्यटकीयस्थलमा आउने विदेशी पर्यटककालाई समेत सम्मानपूर्वक फिर्ता गर्ने तथा आन्तरिक पर्यटकलाई समेत आवतजावतमा कडाई गर्ने जनाइएको छ । केही दिनका लागि सकस हुने भएपनि निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष पुनले अनुरोध गर्नुभएको छ । उहाँले नेपाल सरकारले रोक लगाएका देशबाट आउने विदेशीलाई पालिका भित्र प्रवेशमा रोक लगाउन सिमा प्रहरी चौकीसँग समन्वय गरिने बताउनुभयो ।

Leave a Reply