(हरिकृष्ण गौतम) प्यारालाइसिसले थलिएकी बेनी नगरपालिका–२,फापरखेतकी ६० बर्षिया पुतली र उनका श्रीमान पतिराम सार्की विगत सात बर्षदेखि पशुचौपायाको गोठमा बस्दै आइरहेका थिए । स्थानीय आइते दर्जीको गोठमा पशुचौपाया फेरिए तर सार्की दम्पत्तीको दिनचर्या फेरिएन। पशुचौपायाको गोठ, कहिले खुल्ला आकाश, छिमेकीको आगनमा भोकभोकै सुतेर रात विताएका सार्की दम्पत्तीले करिब १० बर्ष कष्टकर जिवन विताए । स्वदेश तथा विदेशबाट विभिन्न व्यक्तिको सहयोगमा घर ठडिएपछि गोठबाट नयाँ घरमा जाँदै गर्दा पुतलीले सबैका अगाडि खुसीको आँसु झारिन् । स्थानीयको सहयोगमा स्टेचरमा बोकेर आफ्नै लागी बनेको घरसम्म पुग्दा एक पटक नभई पटक–पटक श्रीमान् पतिराम नजिक भक्कानो छोडेर रोइरहेकी पुतलीलाई ह्विल चियरमा राखेर घरभित्र प्रवेश गराएपछि मुसुक्क हासिन् मात्र, कुनै प्रतिक्रिया जनाइनन् ।अतिथिलाई बनाएको मालाले छपक्कै सजिएकी पुतली र पतिराम घर हस्तान्तरण अवधिभर संँगै बसे।सार्की दम्पत्तीको अवस्थाका बारेमा समाचार प्रकाशित भएपछि सुरू भएको आर्थिक संकलन अभियानमार्फत सुरक्षित घर निर्माण सम्पन्न गरी शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि स्थानीय अगुवा भिम बहादुर पौडेलको संयोजकत्वमा सुरू भएको आर्थिक संकलन अभियानमार्फत निर्मित घरको सार्की दम्पत्तीले समुदायको उपस्थितीमा आफ्नै हातले रिवन काटेर घरभित्र प्रवेश गरेका छन् । घर हस्तान्तरण कार्यक्रमका विषेश अतिथि वडा अध्यक्ष हिराबहादुर थापाले छोटो समयमै बेसाहरा दम्पत्तीलाई घर हस्तान्तरणअनुकरणीय काम भएको बताए ।उनले घर निर्माणमा वडा कार्यालयमार्फत बेनी नगरपालिकालाई अनुरोध गरी जस्तापाता र विपन्नको उपचारमा समेत नगरपालिबाट १० हजार आर्थिक सहयोग गरेको बताए । त्यस्तै स्थानीय समाजसेवी याम बहादुर कार्कीले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको सदुपयोग गरी घर निर्माण गरिएको बताए । करिव ५ लाखको हाराहारीमा खर्च हुने जस्तै घरलाई १ लाखमा सम्पन्न गरेर नमुना काम भएको स्थानीयले बताएका छन् ।अभियानका संयोजक पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको करिब १ लाख २२ हजार सहयोग मध्ये उपचारमा समेत खर्च भएको बताए ।उनले १ लाख २२ हजार ९०१ आर्थिक संकलन भएकोमा १ लाख ४ सय १५ रुपैयाँमा शौचालयसहित एक कोठाको भवन निर्माण गरिएको बताए। उनले विभिन्न चरणमा सहयोगदाताका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराइएको बताउँदै बेनपा–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले ह्विल चियर र स्थानीय प्रतिभा यूवा क्लवले गरेको खाद्यान्न सहयोेग प्राप्त भएको बताए । भान्छाका सबै सामान, भाँडाकुँडा, शौचालय, धाराबाट आगनमै पानी ल्याउन पाइप, ड्रम लगायतको व्यवस्था गरिएको छ । सोही अवसरमा पतिरामले गोठबाट घरसम्म ल्याउन सहयोग गर्नेलाई धन्यवाद दिए । ’हामीलाई घर दिनुभयो,‘अब यही बस्छौ’ पतिरामले भने । कार्यक्रममा अभियान्ता आशिष परियारले भविस्यमा थप योजना सहित गरिबको घरमा पुग्ने प्रतिबद्धता जनाए। उनले खुल्ला आकाश, पशुचौपायाको गोठमा बस्नेहरुलाई निरन्तर सहयोग जुटाएर हस्तान्तरण गर्ने बताउँदै सहयोगको सदुपयोग गरिदिएमात्रै सहयोगदाताको सम्मान हुने बताए । कार्यक्रममा आसपासका स्थानीयको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

यो समाचार पनि पढ्नुहोस् : पशुचौपायाको गोठमा मृत्यु कुरेर बसेकी पुतली सार्की!

Leave a Reply