साउदी अरबमा सडक दुर्घटनामा घाईते भएका एक म्याग्देलीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा साउदीको एक कम्पनीमा कार्यरत मालिका गाउँपालिका–७, बालउटेका दिन बहादुर थापाको उपचारमा आर्थिक संकलन अभियानमार्फत शनिबार १ लाख ७१ हजार ९८५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।मालिका यूवा क्लव सहश्रधाराको पहलमा संकलित रकम मंगला गाउँपालिका वडा नं २ का अध्यक्ष धनबहादुर खाती, मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल लगायत स्थानीय आमा समुहका प्रतिनिधिहरुको उपस्थितीमा घाईते थापाकी श्रीमति देवी थापालाई हस्तान्तरण गरिएको हो ।
घाईते अवस्थामा साउदीबाट नेपालमा ल्याउन तथा नियमित उपचारका लागि अस्टेलियाबाट सन्तोष खातीको समुहले ९६ हजार ५ रुपैयाँ, यूवराज रानाको समुहले ६१ हजार ३८० रुपैयाँ, विप्लव ठकुरीले १० हजार, भगवती सुबेदी ५ हजार, राम पौडेल ५ हजार सहयोग प्राप्त भएको मालिका यूवा क्लव सहश्रधाराका अध्यक्ष मुक्ती केसीले जानकारी दिए । घाईते थापाको उपचारमा थप आर्थिक आवश्यक रहेको छ ।
तीन छोरा १ छोरी रहेको थापाको घरायसी अवस्था दयनीय भएकाले अभियान सञ्चालन गरिएको थियो । सोही अवसरमा पीडित परिवारले सहयोगदातालाई धन्यवाद दिएका छन् । म्याग्दी जिल्लाकै पुरानो क्लवले स्थानीयस्तरमा स्वास्थ्य शिविर, सामाजिक जनचेतनामुलक अभियानसँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।