कुश्मामा रहेको रेडियो दिदिवहिनीले ११० औँ अन्तराष्ट्रिय नारी दिवस एवं रेडियोको बार्षिकोत्सवको अवसरमा तेह्रौँ गण्डकी प्रदेश स्तरिय महिला महोत्सव आजबाट शुरु गरेको छ । पर्वतको जलजला गाउँपालिका २ वारीबेनीमा संचालित उक्त महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।

महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले महिलाहरुको सम्मान र सहभागिताले समतामुलक समाज निर्माण हुने बताउनुभयो । उहाँले पर्वतमा महिलाहरुले सञ्चालन गरेको रेडियोले महिलाहरुको आवाज बुलन्द गराउन ठूलो भूमिका खेलेको भन्दै महिलाहरुले चाहेमा जस्तोसुकै काम गर्न सक्छन् भन्ने पनि स्पष्ट पारेको दाबी गर्नुभयो ।

तिमिल्सिनाले संविधानमा उल्लेख भएका सबै मौलिक अधिकार नागरिकहरुले प्राप्त गर्ने वातावरण बन्दै गएको पनि बताउनुभएको छ । दुईवर्षे कार्यकालको अवधिमा आवश्यक कानुन निर्माण गरेर सकिएको बताउँदै तिमिल्सिनाले संविधानमा उल्लेख मौलिक हकको कार्यान्वयन गर्नु अवको दायित्व रहेको उल्लेख गर्नुभयो ।

मौलिक हक कार्यान्वयन गर्न देश आर्थिक रुपमा सवल हुनुपर्ने भन्दै तिमिल्सिनाले त्यसका लागि आर्थिक उपार्जनका क्षेत्र बिस्तार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाहरुलाई उद्यम संग जोड्ने कुरामा सरकारको बिशेष ध्यान गएको बताउनुभयो । महिलाहरुको हातमा सीप र आर्थिक उपार्जनको कुनै माध्यम नभएसम्म समाज पछौटेपनमै रुमलिने भएकाले सरकारले हरेक महिलाहरुमा केहि न केहि उद्यम र सीप हस्तान्तरण गर्ने योजनामा केन्द्रित भएको दाबी गर्नुभयो । मन्त्री गुरुङले नागरिकमा उत्साह थपिने खालका समाचार लेख्न पत्रकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा संविधान सभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले समाज परिवर्तनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै रेडियो दिदिवहिनीको महोत्सवले जिल्लाका महिलाहरुलाई आफ्ना अधिकारको खोजी गर्ने अवसर सृजना गर्दै आएको बताउनुभयो । नेता जोशीले महिलाहरुलाई उद्यम शिलतामा अघि बढ्न आग्रह गर्दै जुनसुकै सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । काँग्रेस नेता जोशीले वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा भ्रष्टाचारको निरूपण गर्न लागेको वताउँदै सरकारको यो प्रवृत्तिले लोकतन्त्र खतरामा परेको दाबी गर्नुभयो  । उहाँले वर्तमान सरकारले गर्ने रचनात्मक काममा काँग्रेसको सहयोग रहने वताउँदै सरकारका गलत कामहरूको विरूद्धमा काँग्रेसले निरन्तर खबरदारी गर्ने उद्घोष गर्नुभयो  ।

कार्यक्रममा  रेडियो दिदिवहिनीका अध्यक्ष कल्पना चापागाईले महिलाहरुलाई समाजमा हेप्ने दृष्टिकोणलाई बदल्न आफुहरु सफल भएको बताउनुभयो । चापागाईले हरेक वर्ष हुने मेला महोत्सव र रेडियोले प्रस्तुत गर्ने कार्यक्रमले समाजमा रहेको कुरिती अन्त्य गरेको र महिलाहरुलाई समाजमा खुल्न प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्रीहरु थममाया थापा मगर, भीमप्रसाद गौचन,संविधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य मेघनाथ सुबेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य डा. चुडामणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, उद्योग वाणिज्य संघ वारीबेनी शाखाका संस्थापक अध्यक्ष नरवहादुर कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत जलजला गाउँपालिका ३ का अध्यक्ष एवं जलजलाका प्रवक्ता देबेन्द्रवहादुर भण्डारी रबीले गर्नुभएको थियो भने सञ्चालन रेडियो दिदिवहिनीका समाचार प्रमुख विष्णु गौतम र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले गर्नुभएको थियो ।

 

 

Leave a Reply