मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मालिका गाउँपालिकाको आयोजनामा पालिकास्तरीय अन्तरमावि छात्र तथा छात्रा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने बताए । उनले प्रतियोगिताबाट नयाँ–नयाँ खेलाडीहरु उत्पादन गरी जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउँदै प्रतियोगिताले खेलाडी पहिचान तथा खेलकुदको विकासमा सहयोग पुग्ने बताएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । उनले गुणस्तरीय खेलकुद विकासमा प्रतियोगिताले सहयोग पु¥याउने भन्दै पालिकामार्फत विभिन्न खेलकुदजन्य गतिविधिहरुलाई प्राथमिकता दिइएको बताए । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले ‘एक वडा, एक खेलमैदान’ निर्माण गर्ने नीति बनाइएको जानकारी दिँदै दरबाङको छ्यारछ्यारे र रुममा खेलमैदान निर्माणकार्य अगाडि बढेको बताएकी छिन् ।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, दरबाङका वडा अध्यक्ष सन्तनाथ सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ इकाई अध्यक्ष गोविन सिउँथानी र जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य राखेका थिए । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष बिटालुको स्वागत र केबि एकेडेमीका शिक्षक बिमल शर्माको सञ्चालनमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच बुधबारै सम्पन्न उद्घाटन खेल अन्तर्गत १५ सय मिटरको दौडमा छात्रतर्फ भीम मावि देवीस्थानका सुजन घर्ती प्रथम, किसानी मावि विमका कमल गुरुङ द्वितीय र जनप्रिय मावि दरबाङका दिनेश घिमिरे तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ भीम माविकै सरिता घर्ती प्रथम, किसानी माविकै सुनिता रोका द्वितीय र जनप्रियका रमाशाह शङ्कर तृतीय भएका थिए । विजेता खेलाडीहरुलाई अबिर र मेडल लगाई प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

यसैगरी १ सय मिटरको दौड अन्तर्गत छात्रतर्फ दरबाङ इङलिस बोर्डिङ स्कुल प्रथम, भीम मावि द्वितीय र किसानी मावि तृतीय तथा छात्रातर्फ भीम मावि प्रथम, जनप्रिय मावि द्वितीय र सिद्धार्थ मावि च्युरिबोट तृतीय भएका छन् । आउँदो शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिका भित्रका ११ ओटा विद्यालयहरुले सहभागिता जनाएको गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता अन्तर्गत छुट्टाछुट्टै खेलमा विजेता हुने छात्र तथा छात्रालाई क्रमशः १० हजार, सातहजार र पाँचहजार रुपैयाँसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी र एथ्लेटिक्स विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

Leave a Reply